आमरण अनसनमा रहेका लक्ष्मण थारुको स्वास्थ्यमा समस्या

कैलाली
संचार गृह/ शनिबार, फाल्गुन ३, २०७६

तीन दिनदेखि आमरण अनसनमा रहेका थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य अवस्थामा समस्या आएको छ ।

टीकापुर घटनामा जेलजिवन बिताइरहेका रेशम चौधरी सहित ११ जनाको रिहाई सहित विभिन्न १४ बुँदे माग राख्दै फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौकमा लक्ष्मण आमरण अनसनमा बसेका छन् ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको स्वास्थ्य अवस्था विस्तारै विग्रदै गएको जानकारी दिए । उनले लक्ष्मणको शरिरमा सुख्खापनको मात्रा बढ्दै गएको, मुटुको धडकनमा उतार चढाव भइरहेको बताए । डाक्टर निराजनले दुई दिनसम्म खाना नखाएर बस्दा स्वास्थ्यमा गढबढी भएको बताए ।

थरुहट/थारुवानले टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देवीराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।

उनीहरूले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन् । संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ ।

यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठान लगायतमा आगजनी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ । टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रूपमा नै हुनु पर्ने मोर्चाको माग छ ।