सप्तरीमा आज मुस्लिम सम्मेलन, सहभागी हुन आएका पाकिस्तानीलाई फर्काइँदै

सप्तरी
संचार गृह/ शनिबार, फाल्गुन ३, २०७६

सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा शनिबार मुस्लिम समुदायको धार्मिक सम्मेलन हुँदैछ । करिब २ लाख मुस्लिम धर्मालम्बीले सहभागीता जनाउने ठानिएको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकहरूले जनाएका छन् ।

विवादरहित बन्न सकेन
भव्य तयारी गरिए पनि सम्मेलन विवादरहित बन्न सकेन । आयोजकले सुरुमा नेपाल र भारतका मुस्लिम समुदायको मात्र सहभागिता हुने भनेर अनुमति लिए पनि पछि तेश्रो मुलुकका नागरिक सहभागी हुन आएपछि सम्मेलन विवादित बनेको हो ।

अन्य मुलुकका नागरिक सहभागी आउन थालेपछि गृह मन्त्रालयले बिहीबार सम्मेलन रोक्न निर्देशन दिएको थियो । मुस्लिम आयोगको समन्वयमा आयोजक विदेशी नागरिकहरूलाई फर्काउन तयार भएपछि शनिबारदेखि उक्त सम्मेलन हुने निश्चित भएको छ ।

सम्मेलनस्थलमा विदेशी नागरिक फर्काउन थालिए पनि शुक्रबार मात्र जहाज चढेर ७ जना पाकिस्तानी नागरिक राजविराज आएका सुरक्षा स्रोतले जानकारी दिएको छ । ती पाकिस्तानी नागरिक राजविराजस्थित एक होटलमा रहेको र उनीहरूलाई त्यहीँबाट फर्काइने सुरक्षा अधिकारीहरुले बताएका छन् । अन्य विभिन्न बाटो प्रयोग गरी सम्मेलनमा आएका विदेशी नागरिकहरू सबैलाई फर्काउने प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आयोजकहरूको गल्ती
राष्ट्रिय मुस्लिम आयोगका अनुसार आयोजकहरूको कही गल्ती देखिएका छन् । सम्मेलनबारे तनाव सिर्जना भएपछि शुक्रबार साँझ सम्मेलनस्थल पुगेका राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले आयोजकले गल्ती गरेको बताए ।

इलाका प्रहरी कार्यालय बोदेवरसाइनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरूसितको छलफल पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे अध्यक्ष अन्सारीले सम्मेलनलाई आयोजक समितिले राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तर्रा्ष्ट्रिय सहभागी बोलाएर गल्ती गरेको टिप्पणी गरे ।

‘यो सम्मेलन अन्तर्रा्ष्ट्रिय थिएन, अन्तर्रा्ष्ट्रिय गर्न नदिने भएपछि आयोजकहरूले राष्ट्रिय रुपमा मात्र सम्मेलन गर्छौं भनेर लिखित रुपमा प्रधानमन्त्री कार्यालय र राष्ट्रिय मुस्लिम आयोगमा जानकारी दिए’, आयोगका अध्यक्ष अन्सारीले भने, ‘राष्ट्रिय सम्मेलन मात्र गर्छौं भनेपछि बल्ल अनुमति दिइयो तर पछिल्लो समय आयोजकले भने बमोजिम नगरेर गलत तरिकाबाट जसरी विभिन्न देशबाट सहभागी गराइयो, त्यसपछि नेपाल सरकारले रोक्न बाध्य भयो।’

‘सुरुमा आयोजकले भारतबाट धर्मगुरु मौलाना साहबहरु र केही सहभागी आउने तथा नेपालका विभिन्न भागबाट सहभागी आउने बताए पनि पछि त्यसको विपरीत काम गरेको अध्यक्ष अन्सारीको भनाइ थियो । ‘पाकिस्तान, बंगलादेश, कतार, दुबई, साउदी र थाइल्यान्डलगायतका मुलुकबाट करिब २ सयको हाराहारीमा सहभागी आएपछि नेपाल सरकारले सम्मेलन रोक लगाउने निर्णय गरेको हो।’

सम्मेलनबारे विवाद सिर्जना भएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा अधिकारीहरुको टोली शुक्रबार दिनभर बोदेवरसाइनमै विदेशी फर्काउन आयोजकलाई आग्रह गर्दे सुरक्षा व्यवस्थाको कमान्ड सम्हालेका थिए।जिल्लाका अधिकांश सशस्त्र र जनपद प्रहरी त्यही परिचालित छन् भने छिमेकी जिल्लाबाट तथा दंगा नियन्त्रण गणहरुबाट पनि थप प्रहरी बल बोदेवरसाइन ल्याइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी ल्याइएपछि अहिले यहाँ सुरक्षाकर्मीलाई खान र बस्न समस्या भएको छ। खेतमा पाल टागेर प्रहरीलाई राखिएको छ।सम्मेलनमा शुक्रबार साँझसम्म ४० हजारभन्दा बढी सहभागी आइसकेका छन्। आयोजकहरूले आफ्नै ट्राफिक व्यवस्थापकहरु परिचालन गरेका छन्। सम्मेलनमा २ लाखभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।