मछिन्द्रबाट पुलिस पराजित

काठमाडौं
संचार गृह/ बुधबार, माघ ८, २०७६

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा रञ्‍जित धिमालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्‍जितले गोल गरेका थिए ।

खेलको ५४ औं मिनेटमा रञ्‍जितले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।

पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।

गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ ।