सर्लाहीका उखु किसानबाट आन्दोलनको घोषणा

सर्लाही
संचार गृह/ बुधबार, माघ ८, २०७६

सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिले बुधबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी उखुको बाँकी बक्यौता रकम लिन आन्दोलन गर्ने घोषणा गरेको हो । माघ ९ गतेसम्म पूरा भुक्तानि नपाए जिल्लाका उखु किसान चरणवद्ध आन्दोलनमा उत्रिने भएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार किसानले माघ १० गते कालोपट्टी बाँधेर खेमा काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म गाउँ–गाउँमा जनजागरण अभियान सञ्चालन गर्ने र माघ १८ गते गोडैता नगरपालिकाको बजारमा उखुको रकम भुक्तानि बाँकी रहेका किसानहरुको भेला गरी काठमाडौं केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गरिने भएको छ ।

पत्रकार सम्मेलनमा उखु किसान सङ्घर्ष समितिका सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले सरकारसँग प्रतिवद्धता जनाएपछि पनि चिनी उद्योगीले पैसा नदिँदा उखु किसान निराश भएको बताए । उनले उखु किसानलाई पुनः काठमाडौं गएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह समेत गरे ।

सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले अघिल्ला वर्षहरुमा बिक्री गरेको उखुको पैसा नदिएपछि किसानहरु पटक–पटक आन्दोलन गर्दै आएका छन् । जिल्लामा जति पटक आन्दोलन गरेपनि उखु बेचेको पैसा नपाएपछि जिल्लाका किसानले गत पुसमा काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए ।

त्यसबेला सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै उखु किसानलाई माघ ७ गतेसम्म पुरानो बक्यौता सबै चुक्ता गर्ने प्रतिवद्धतासहित उखु किसानलाई घर फर्काएको थियो ।

सो सहमतिपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मी चिनी उद्योगले २१ करोड ४० लाख रुपियामध्ये ११ करोड ५० लाख रुपियाँ भुक्तानि गरेको छ ।

विगत तीन÷चार वर्षदेखिको भुक्तानि नगरेको अन्नपूर्ण चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेको छैन भने महालक्ष्मी चिनी उद्योगले केही साता अघिबाट सञ्चालनमा आइसकेको छ ।