देउवा–दाहाल फोनवार्ता, उपसभामुखमा कांग्रेसको बार्गेनिङ

काठमाडौं
संचार गृह/ सोमवार, माघ ६, २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार सभामुखलाई सम्बोधन गर्दै राजनीमा दिएकी हुन् । संविधानको धारा ९१ को उपधारा २ (१) मा सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक–फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ ।
यही प्रावधानका आधारमा नेकपाले उपसभामुख पद गुमाउने भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपसभामुख पदमा लविइङ थालेको हो । कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एक पदमा आफूले उमेदवारी दिनेसमेत बताएको छ ।

यही विषयलाई टुंगो लगाउन मंगलबार बिहान ८ बजे कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । आइतबार बेलुका नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको स्रातले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रचण्डले फोन गरेर सभापति देउवालाई सघाउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको छ ।

सोही नेकपाको योजना अनुरुप अध्यक्ष दाहालले सभापति देउवालाई फोनमार्फत सभामुखमा सघाउन आग्रह गरेका हुन् ।

यता कांग्रेस पनि सभामुखमा सत्तारुढ दलका उमेदवारलई सघाएर उपसभामुख आफ्नो पोल्टामा पार्न चाहन्छ । सोही योजना अनुसार जवाफमा सभापति देउवाले उपसभामुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

कांग्रेसले कसलाई उपसभामुख बनाउने भन्ने निर्क्योल भने गरिसकेको छैन । नामको टुंगो मंगलबार बिहान बस्ने संसदीय दलको कार्यसमिति बैठकले निर्णय गर्नेछ । यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए ।