नेकपाले बोलायो सभामुखको टुंगो लगाउन सचिवालय बैठक

काठमाडौं
संचार गृह/ आइतवार, माघ ५, २०७६

सभामुखको उम्मेदवार चयन गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार सचिवालय बैठक डाकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको स्रोतले बताएको छ ।

सभामुख पदमा पूर्वएमाले अथवा पूर्वमाओवादीको आ–आफ्नै अडान र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन नमानेपछि यो विषय पेचिलो बन्दै गएको छ ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त भएपछि हिउँदे अधिवेशनको पहिलो बैठकपछि तीनपटक सूचना टाँसेर बैठक स्थगित भएको छ ।प्रतिनिधिसभाको अर्काे बैठक सोमबारका लागि बोलाइएको छ ।