गर्भमै बेचिएकी रोहीणी हाँस्न थालिन्

काठमाडौं
संचार गृह/ शनिबार, भदौ २८, २०७६

मानव वेचविखनको स्वरुप फेरिएको छ आजको समयमा, निकै बदलाव देखिँदै छ । प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभन अथवा बाध्यतामा मानव वेचविखन हुँदै आएको थियो । तर केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरु बेचिने गरेको खुलासा भैसकेको छ ।

तर आज हामी कुरा गर्दै छौ गर्भकै बेचिएकी शिशु रोहीणीका बारेमा, डेढ महिनाकी अवोध बालिका रोहीणीलाई के थाहा उनी बेचिएकी थिइन भनेर । त्यो पनि गर्भमै । १४ बर्षको उमेरमै कसैको प्रेमको अंश थिईन् रोहीणी तर उनी प्रेमको निशानी बन्न सकिनन् । किनकी जुन सम्बन्धपछि उनी जन्मदै थिइन त्यो सामाजले वैधको संज्ञा दिंदैन ।

एक युवकले गर्भवती बनाएर फरार भएपछि एक किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन । बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षित रुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि पुर्‍याए काठमाडौं कलंकीको संजीवनी बर्थ सेन्टरमा, त्यहीँ गत श्रावण १२ गते रोहीणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहीणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए । स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघन कक्षमा भर्ना गरेको थियो । २३ दिनसम्म कान्तिमै राखिएपछि रोहीणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रकोे जिम्मा लगाइयो ।

अहिले उनलाई ललितपुरको धोविधाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको छ ।
बाल उत्थान समाजमै उनको न्वारन गरेर रोहिणी नामाकरण गरिएको हो । बालगृहकी संचालिका सावित्री पोखेरेलले आफुले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जनाएकी छिन् ।

बालिकाको अहिले स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा उपचार भइरहेको छ । गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ । बालिका वेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् ।