तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

पाँचथर
संचार गृह/ शनिबार, भदौ २८, २०७६

दु्रतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

पूर्वी पहाडलाई तराईसँग जोड्ने सुनसरीको चतराबाट धनकुटाको मूलघाट, पाँचथरको माझिटार-अमरपुरडाँडा हुँदै गणेश चोक जोड्ने सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको हो ।

उक्त सडकको पाँचथरस्थित हिलिहाङ-५, सुभाङमा पाँच सय मिटिर ट्रयाक पूरा हुन बाँकी छ । त्यस्तै पाँचथरकै माझिटारमा करीब १२ सय मिटर ट्रयाक पूरा हुन बाँकि रहेको आयोजना हेर्दै आएको मध्यपहाडि लोकमार्गको फिदिमस्थित कार्यालयका सूचना अधिकारी इन्जिनियर सिगु खत्रीले बताए ।

१४८ किलोमिटर दुरीको करिडोरको अन्य स्थानमा करीब ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको इन्जिनियर खत्रीको भनाइ छ । आयोजनाको ट्रयाक खोल्नेदेखि ग्रावेल गर्ने सम्मको काम सात वटा प्याकेजमा भइरहेको छ । सडकको ट्रयाक खोल्ने काम २०७४ फागुनदेखि सुरु भएको इन्जिनियर सिगुको भनाई छ ।

करिडोरको गणेशचोक-मुक्तुुराखोला, मुक्तुराखोला खेला-सिवा दोभान, सिवा दोभान-लोरिपा दोभान, लोरिपा दोभान-नावाखोला, नावाखोला-लेउती पुल, लेउती पुलदेखि सानो सफाई धनकुटा र सानो सफाईदेखि चतरा गरी सात प्याकेजमा काम भइरहेको आयोजनाको पाँचथर खण्ड हेर्दै आएका इन्जिनियर लालकिसोर यादवले बताए ।

सूचना अधिकारी खत्रीका अनुसार करिडोरको ट्रयाक र ग्रावेलको काम ६ अर्ब २३ करोड ४९ लाख रुपैंयाँ लागतमा रकममा भइरहेको हो ।

करिडोरको काम सम्पन्न भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्ला प्रदेश राजधानीसँग छोंटो दुरीमा जोडिनेछन् । पहाडमा उत्पादिन कृषि उपज तराईका बजारसम्म पुर्याउन समेत सहज हुने अपेक्षा गरिएको छ ।