मनकामना केबलकार मर्मतसम्भारसँगै सञ्चालनमा आयो

गोरखा
संचार गृह/ शुक्रबार, भदौ २७, २०७६

मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।

शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित कुरिनटारमा रहेको यस केबलकार चढेर गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु जाने गर्छन् ।