कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कैलाली
संचार गृह/ बुधबार, भदौ २५, २०७६

रकम संकलन गरेको ८ बर्ष सम्म बिजुली नबलेपछि कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । स्थानीयले घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा तालाबन्दी गर्दै अहिले राजमार्ग अवरुद्ध पारेका हुन् । घोडाघोडी नगरपालिका वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन ।

जिल्लाको घोडाघोडी नगरपालिकाका ४ वटा वडा, गौरीगंगा नगरपालिकाको एउटा र कैलारी गाउँपालिकाको एउटा वडाका वासिन्दाले रकम संकलन गरेर बुझाएको ८ बर्ष सम्म पनि बिजुली बाल्न पाएका छैनन् ।

विजुली बल्ने सपना देखाउँदै २०६८ र २०६९ सालमा घोडाघोडी विद्युत सहकारीले स्थानीयबाट रकम संकलन गरेको थियो । तर अहिले सम्म विद्युतीकरणको कार्य समेत सकिएको छैन ।

विद्युती करणमा भएको ढिलाईका कारण घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ७ र ९ गौरीगंगा नगरपालिकाको ११ नम्बर वडा र कैलारी गाउँपालिकाको ८ नम्बर वडाका वासिन्दाहरु अझै अन्धकारमा छन् ।

२०६९ सालमा प्रति परिवार एक हजार पाँच सय रुपैयाँका दरले रकम उठाईएको थियो । विद्युतीकरणका लागि पनि ठेक्का सम्झौता भएको पाँच वर्ष भएको छ तर काम पूर्ण भएको छैन ।