जण्डिसको उपचार गराउँदा झाँक्रीले पारे पेटमा प्वाल

धादिङ
संचार गृह/ बुधबार, भदौ २५, २०७६

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का एक लामा झाँक्रीले विरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिनाअघि देखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका वडा नं ९ झगरेका राजु मगरको शरिरको विकार निकालिदिने भन्दै झाँक्री गज बहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वामसा पर्दा राजु यतिबेला जीवनमरणको दोसाँधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

झाँक्रीले शरिरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउँमा मुखले टोकिदिएको कुरा श्रीमानले आफुलाइ बताएको विमलाले बताइन् ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै विग्रिएपछि उनलाइ उपचारको लागि काठमाण्डौ स्थित अस्पतालमा लगिएको थियो । तर काठमाण्डौ नयाँबजार स्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफुले नहर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो ।

लामा तान्त्रिक विधिद्धारा उपचार गराउँदै आइरहेका विवादित ब्यक्ति हुन् । उनको यसअघि पनि केही घटनाहरु विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाइ प्रहरीकोमा उजुरी गर्न भनिएपनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएको अधिकारकर्मी राधिका सापकोटाले बताइन् ।

झाँक्रीको कर्तुतबारे आफुले प्रहरीलाई त्यतिबेलै मौखिक जानकारी गराएको भएपनि कुनै कारवाही नभएको सापकोटाले बताइन् ।