इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाऔं : विद्यासुन्दर शाक्य

काठमाडौं
संचार गृह/ बुधबार, भदौ २५, २०७६

इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आग्रह गरेका छन् ।

महानगरपालिकाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सबैसँग आग्रह गरेका हुन् ।

इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् । उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने बताइएको छ ।

इन्द्रजात्रालाई भव्य रुपमा मनाउनका लागि इन्द्रजात्रा व्यवस्थापन समिति गठन गरिएको छ भने स्थानीय संघ, संस्था र क्लबसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको मेयर शाक्यले बताए ।

मेयर शाक्यले इन्द्रजात्रा तथा अन्य संस्कृतिको जर्गेना गर्न ५ करोडको अक्षयकोष स्थापना गर्न लागिएको बताए। काठमाडौं महानगरपालिकाको संरक्षणमा रहनेगरी कोष स्थापना गर्न लागिएको उनको भनाई छ। मेयर शाक्यका अनुसार महानगरको २ करोड, पर्यटन मन्त्रालयको १ करोड ५० लाख, प्रदेश सरकारको १ करोड र गुठी संस्थानको ५० लाख लगानीमा कोष स्थापना गर्न लागिएको हो।

कुमारी घरमा पुगेर कुमारी अवलोकन गर्ने र विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ । श्रीकुमारी, श्रीगणेश, श्रीभैरवको रथयात्रा, लाखेनाँच, आकाश भैरवनाँच, महाकालिन नाँचलगायतकका नृत्य प्रस्तुत गरिने छ । जात्राको अन्तिम दिन कुमारी घरमा पुगेर राष्ट्र प्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ । मंगलबारबाट शुरु भएको जात्रा आठ दिनसम्म मनाइन्छ ।