शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच

काठमाडौं
संचार गृह/ बुधबार, भदौ २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा बुधबार नियमित स्वास्थ्य जाँच गराएका छन् । बिहान स्वास्थ्य जाँच पछि उनी बालुवाटार फर्किएका छन् ।

अस्पतालमा उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको छ ।

‘शरीरबाट पाइप झिकिएको छ, उनले भने, ‘प्रधानमन्त्री अब तन्दुरुस्त भएर फर्किनुभएको छ ।’ यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो ।

उनी यही २० गते स्वदेश फर्किएका थिए । उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन् ।