युरोकप छनोटमा पोर्चुगलको शानदार जित,रोनाल्डोले गरे चार गोल

काठमाडौं
संचार गृह/ बुधबार, भदौ २५, २०७६

क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरोकप छनोटमा शानदार जित निकालेको छ । राति भएको खेलमा पोर्चुगलले लियुनियालाई ५-१ गोल अन्तरले हराएको हो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।

६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४-१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

रोनाल्डोले पोर्चुगलबाट ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ बर्षका रोनाल्डोले आठ अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरेका छन् । समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । अर्को खेलमा लक्जेमवर्गलाई ३-१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ । एजेन्सी