नेपाल-भारत पेट्रोलियम पाइपलाइनको शुभारम्भ, दुवै देशका प्रधानमन्त्रीबाट पहिलो पटक ‘भिडियो कन्फरेन्स’मार्फत भयो उद्घाटन

काठमाडौं
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत् एकैसाथ ‘स्वीच’ थिचेर परियोजनाको उद्घाटन गरे ।

यो पाइपलाइन दक्षिण एसियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइने नेपाल आयल निगमले जनाएको छ ।

मोतिहारी-अमलेखगन्ज पाइपलाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।

पाइपलाइनबाट दैनिक झन्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

परियोजनाको उद्घाटनकाक्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा रहेको छ । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ ।

निगम र भारतीय आयल कर्पोरेसनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो ।

सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो । यो परियोजना पछिल्लोपटक तोकिएको समयअगावै सन्चालनमा आएको हो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ट्वीट गर्दै उनले तोकिएको समयभन्दा पहिले नै परियोजना सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् ।

यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समयअगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिएका छन् ।