नेकपाको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोज्यो -सभापति देउवा

विराटनगर
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई समाप्त पार्दै कम्युनिष्ट शासन प्रणालीको उदय गर्न नेकपाको सरकार उद्त रहेको बताए ।

उनले कम्युनिष्ट सरकार खराव नभएपनि उसले ल्याउन चाहेको कम्युनिष्ट शासन व्यवस्था भने ठिक नभएको बताए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मुल्य मान्यततलाई हस्तक्षेप गरी लोकतन्त्रतलाई कमजोर बनाउने खेल भईरहेको आरोप समेत लगाए ।

उनले सरकारले कम्युनिष्ट राज्य बनाउने अभ्यास स्वरुप स्वतन्त्र प्रेस,न्यायपालिका,मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिक रुपमा हस्तपेक्ष गर्ने कार्य गरिरहेको जानकारी दिए ।

सभापति देउवाले यदी सरकारले लोकतन्त्र मास्ने गतिविधिलाई तत्काल नसच्याए प्रतिपक्ष सरकार विरुद्ध कडा आन्दोलनमा जाने पनि चेतावनी दिए ।