सरकारले दुइतिहाई दम्भमा लुटतन्त्र मच्चाएको छ : नेता पौडेल

पोखरा
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुइतिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भन्नेको दुइतिहाईकै हस्तक्षेप भएको बताए ।

उनले भने, दुइतिहाई देखाएर अदालतलाई तर्साउने, दुइतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको । एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ?

उनले प्रश्न गरे, सरकार किन ठूला माछा समाउन सक्दैन ? एनसेल र वाईडबडीमा भएको भ्रष्टाचारमा अख्तियार परेको छ । साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैन ।

सरकारको काम कारबाहीबाट जनता असन्तुष्टि छन् । यसैले पनि सरकार पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए । उनले भने, सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपना अनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ ।

‘सरकारले सामान्य काम पनि गर्न सक्दैन । देशमा डेंगुको महामारी छ, तर नियन्त्रण गर्ने क्षमता सरकारमा छैन,’ पौडेलले भने । सरकारको काम कारबाहीले संविधानको मर्मलाई आघात पु¥याउने काम भएको समेत उनले आरोप लगाए ।

उनले वीपीले देखाएको बाटो अंगिकार गरेमात्र काँग्रेसका सपना पूरा हुने बताए । उनले वीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिष्ट देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको बताए । उनले भने, आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेकेका छन् । यसैबीच, पोखरा ९ स्थित वीपी बाटिकामा नेता पौडेलले वृक्षरोपण गरेका छन् । सो अवसरमा विभिन्न जातका करिब डेढ सयभन्दा बढी बिरुवा रोपिएको छ ।