आज वीपी जयन्ती, काँग्रेसले देशभर कायक्रम गर्दै

काठमाडौं
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०६औं जयन्ती मनाइँदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका हुन् ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उनकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको विषय उठ्ने गरेको छ ।

वीपी राजनीतिमा भन्दा साहित्यमा अझ छाएका थिए । उनको सुम्निमा, तीन घुम्ती जस्ता उपन्यास लोकप्रीय मात्र नभई नेपाली समाजको तस्बिर बनेका छन् । साहित्य, इतिहास देखि दर्शनशास्त्रमा समेत वीपीको विशिष्ट योगदान छ ।

यता, नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान मंगलबारबाटै सुरु गर्दै छ । तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ शुरु हुने जागरण अभियानमा सामाजिक संवाद गर्ने गरी अभियान चलाइने कांग्रेसले जनाएको छ ।

अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको बताइएको छ । अभियानको अन्तिम दिन असोज ७ गते केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ ।

त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुँदै छ । ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ ।