एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटमा नेपालले युएइसँग खेल्दै, खेल प्रतिष्ठाका लागि मात्र

काठमाडौं
संचार गृह/ मङ्लबार, भदौ २४, २०७६

एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा आज नेपालले यूएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने १० बजेदेखि श्रीलंकाको कोलम्बोमा हुनेछ ।

समूह चरणबाटै बाहिरिएका दुई टोली नेपाल र युएई आज प्रतिष्ठाका लागि खेल्दैछन् । श्रीलंकामा जारी एशिया कपमा दुवै देशलाई समूहका शुरुवाती दुई खेलमा टेष्ट मान्यताप्राप्त टोलीहरु श्रीलंका र बंगलादेशले हराएका हुन् ।

नेपाल र युएइबीच उमेर समूहको पछिल्ला पाँच खेलमा नेपाल चार जित र एक हारको अवस्थामा रहेको छ ।

नेपाली टिमका प्रशिक्षक विनोद दासले आजको खेलमा टोली विजयी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । समूह ’बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ । समूह विजेताको तय भने आज नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले युएईलाई हराउने अनुमान गरिएको छ । पछिल्लो पाँच भेटमा नेपालले ४ खेल जितेको छ ।

तर, यसै वर्ष भएको यू–१९ विश्वकप छनोटमा नेपाललाई युएईले हराएको थियो । गत अप्रीलमा मलेसियामा भएको विश्वकप छनोटमा नेपाल डीएल पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

वर्षाले प्रभावित बनेको उक्त खेलको हारले नेपाल विश्वकपमा पुग्न असफल भएको थियो । नेपाल उक्त हारको बदलामा समेत हुनेछ ।