राष्ट्रिय गान बज्दा नउठ्ने मानिस नेपाली हुनै सक्तैनः सञ्चारमन्त्री

संचार गृह/ सोमवार, भदौ २३, २०७६

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन् ।

नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले भने अहिलेका चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने बताए ।

उक्त ऐन प्राविधिक कारणले अझै संसदमा पेश नगरिएको बताउँदै उनले भने, “केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठ्न नपर्ने सन्देश प्रवाह गरेका छन, ।

मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठ्ने मानिस नेपाली हुनै सक्तैन ।” देशको राष्ट्रियतालाई उचाइमा पु¥याउन कलाकार एकताबद्ध हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले सङ्घलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा सङ्घका अध्यक्ष रवीन्द्र खड्का, कलाकार निर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिएका थिए ।