अमेरिकाले अफगानिस्तानसँग वार्ता नगर्ने

काठमाडौं
संचार गृह/ आइतवार, भदौ २२, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् । राष्ट्रपति ट्रम्पले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताए ।

अफगानिस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बताइएको छ । बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष विशेष अमेरिकी राजदुत जल्मे खलीलजादले यसअघि सोमबार तालिवानीसंग वार्ता हुने मिति तय भएको बताएका थिए । तर वार्ताको एक दिन अघि नै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँग वार्ता नगर्ने घोषणा गरेका हुन् ।

प्रस्तावित सम्झौतामा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट पांच हजार भन्दा बढी सैनिक फिर्ता लैजाने उल्लेख गरिएको छ । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाले हमला गर्न थालेपछि विद्रोहीको निशानामा परेर मारिएका तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकमध्ये दुई हजार तीन सय अमेरिकी सेना रहेको बताइएको छ ।

आक्रमणमा अहिलेसम्म ३२ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी