डेंगु के हो ? जान्नुहोस् १० लक्षण र बच्ने उपाय

काठमाडौं
संचार गृह/ शुक्रबार, भदौ २०, २०७६

अहिले डेंगुबाट राजधानी काठमाडौं लगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।

यो समाचार तयार पार्दासम्म काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी

तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

के हो त डेंगु ?

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने डब्बाहरू, रंगका खाली बट्टा, थोत्रो टायर, अलकत्राका ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ ।

सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताईन्छ ।

यस प्रकारको डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार किसिमका हुन्छन् ।

एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल

नभएको स्वच्छ पानीमा फुल पार्ने गर्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक

ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु पनि हुन सक्छ ।

यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन जस्ता औषधी भने खानु हुँदैन ।

डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल

नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्नेहुन्छ ।

यसका लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

–शरीरमा विमिरा आउने ।

–वाकवाकी लाग्ने ।

–पेट दुख्ने ।

–नाक वा गिजाबाट रगत बग्ने ।

– असाध्यै टाउको दुख्ने ।

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।

–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने ।

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

यसबाट कसरी बच्ने त ?

–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने ।

–पानी जम्नसक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने ।

–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने ।

–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ ।

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा–खुल्टी पुर्ने गर्नुपर्छ ।

डेंगुबाट २०७० र ७१ मा ३०२ जना, २०७१ र ७२ मा १३४ जना, २०७२ र ७३ मा १ हजार ५२७ जना, २०७३ र ७४ मा २ हजार १११ जना, २०७४ र ७५ मा ८११ जना, २०७५ र ७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित

भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।