तीजका ब्रतालु महिला(फोटोफिचर)

काठमाडौं
संचार गृह/ सोमवार, भदौ १६, २०७६

नेपाली हिन्दु नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदै छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

यता, पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो ।

कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले यस वर्षको तीजदेखि सधैंभरीका लागि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला हुने बताए ।

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । अब सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हुन्छ ।’

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।