भरतपुर तनावग्रस्तः ठाउँठाउँमा र्‍याली र झडप, ट्रकमा तोडफोड

काठमाडौं
संचार गृह/ सोमवार, भदौ ९, २०७६

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकहरुले प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।

समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकर्ल याली गरेका छन् । त्यस्तै, भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा पनि झडप भइरहेको छ ।

शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्रि सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

यसै बिच रवि लामिछाने समर्थकहरुको प्रदर्शनमा प्रर्दशनकारीले दुई ट्रकमा तोडफोड गरेका छन् ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो ।

दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी आदेश जारी गरिएको थियो।