मन्त्रीपरिषद बैठक बस्दै, भिडियो कन्फेरेन्समार्फत बैठक बस्ने

संचार गृह/ सोमवार, भदौ ९, २०७६

मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा भएकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बस्न लागेको हो ।

मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको जानकारी दिएका छन् ।