सिनामंगलमा टिपरले ठक्कर दिंदा तीनवटा बाइकमा क्षति, एक जनाको मृत्यु

काठमाडौं
संचार गृह/ सोमवार, भदौ ९, २०७६

काठमाडौंको सिनामंगलमा आइतबार साँझ डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका छन् ।

एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा भेटिएको छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। जसमा दुई जना गम्भिर घाइते छन् । टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो ।

तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ नम्बरको शंकास्पद टिपरलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रहरीका अनुसार, तीब्र गतिमा रहेको टिप्परले बा ८५ प ५६९, बा ३८प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक र र घाइते हुनेको नाम प्रहरीले खुलाएको छैन । घाइतेको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।