फ्रान्सेली लिग वानमा पीएसजीबाट टुलुज पराजित

काठमाडौं
संचार गृह/ सोमवार, भदौ ९, २०७६

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा शानदार जित निकालेको छ । खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र ईडिसन काभानी घाइते भएर मैदान बाहिर रहेपनि अन्य खेलाडीले नै यति ठूलो जित निकाल्न सकेका हुन् । आइतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४-० गोल अन्तरले हरायो ।

खेलको १४ औ मिनेटमा काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए । एम्बाप्पे समेत दोस्रो हाफमा थाईमा समस्या आएपछि मैदान छाडेका थिए ।

एन्जल डी मारियाले पेनाल्टी खेर फाल्दा समेत घरेलु मैदानमा पीएसजीले सहज जित निकाल्न सफल भयो । मुख्य खेलाडी नेयमारबिनै मैदान उत्रिएको पीएसजीलाई चौपो मोटिङले ५० औ मिनेटमा सुरुवाती अग्रता दिलाए ।

गोन्साल्वेसको आत्मघाति गोलबाट पीएसजीले ५५ औ मिनेटमा अग्रतालाई दोब्बर पार्यो । मोटिङले ७५ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता तेब्बर पारे । मार्किन्होसले ८३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४-० को प्रभावशाली जित दिलाए ।

मुख्य प्रशिक्षक थोमस टुचेलले नेयमार बिनाको टिमलाई मैदान उतारेका थिए । यसै सिजन पेरिस छाड्ने तयारी गरेका नेयमार बिनाको टिमलाई टुचेलले मौका दिने गरेका छन् ।

पीएसजी ३ खेलबाट ६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । टुलुज ३ खेलबाट ४ अंक सहित तालिकाको १२ औ स्थानमा छ । एजेन्सी