सिआईबीको टोलीबाट पुडासैनी घटनाको मिसिल सरकारी वकिलमा पेश, तीनै जना बिरुद्ध आत्महत्या दुरुत्साहन अभियोग

चितवन
संचार गृह/ आइतवार, भदौ ८, २०७६

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ ।

मिसिलमा रवि लामिछानेसहित तीनै जना बिरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।

पुडासैनीको घटनामा अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन पुगेको थियो ।

आइतबार पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको बताए ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आजै चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत अभियोगपत्र दायर गर्न लागेको हो ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।