रवि लामिछानेलाई अदालत लगियो, सरकारी वकिलले अभियोगपत्र दायर गर्ने

काठमाडौं
संचार गृह/ आइतवार, भदौ ८, २०७६

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई अदालत लगिएको छ । आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको बताईएको छ ।

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भदौ ९ गते अर्थात भोली पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिएका छन् ।
प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ । पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।