सन्तको चरित्र कल्याणकारी दुष्टको चाल अवसरवाद

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, भदौ ७, २०७६

(आध्यात्मपरक वीसौं सृङ्खलाको प्रस्तुति)

संसारमा मान्छेलाई अनेक खालका विषयवस्तुले आकर्षण गरिरहेको हुन्छ । त्यही आकर्षणमा परी उनीहरु अस्वाभाविक आकांक्षाका साथ विभिन्न विषयवस्तुमा संलग्न हुन्छन् । कतिपय मामुलोमा उनीहरु संघर्षमा पनि पर्छन् । कतिपयमा प्रशन्नता, नैराश्यता र ग्लानीले स्थान लिन्छ । जे जस्तो भए पनि उनीहरु त्यस्तैमा मस्त र व्यस्तसाथ अगाडि बढ्छन् ।

श्रीमद्भगवद्गीताका अनुसार त्यस्तो अस्वाभाविक तरिकाले एक पक्षीयरुपमा लाग्नेहरु त्यसैमा जीवनको सफलता ठान्ने हुन्छन् । त्यसैले त्यस्ता कारोवारलाई उनीहरु सकारात्मक ठानी उज्यालो पक्षले हेर्छन् । तर यसै मामुलोमा तत्वज्ञानीहरुको लक्षण भने विपरित हुन्छ । किनभने संसारका अनेकानेक विषयवस्तुमा अस्वाभाविक खालबाट लिप्त भई भुल्नु ज्ञानीहरुको लागि नकारात्मक पक्ष हो । त्यसैले उनीहरु यस्ता कुरामा नकारात्मक ठान्छन् । उनीहरु यसो गर्नुलाई अँध्यारो पक्षले हेर्छन् ।

यसैगरी ज्ञानीहरुमा परमात्म विषय कुरा सकारात्मक ठहर्छ र यसतर्फ उनीहरु उज्यालो दृष्टि राख्छन् । जबकि सर्वसाधारणहरुको लागि निराकार परमात्म विषयक कुरा आँखाले नदेखिने भएकोले अँध्यारो पक्ष हो ।१ सार यो हो कि ज्ञानी र सर्वसाधारणमा परमात्म तत्व र सांसारिक विषयवस्तुप्रतिको आकर्षणलाई हेर्ने दृष्टिकोण विपरित खालको हुन्छ । यसरी फरक पर्नुमा कारण अनेक हुन्छन् । मुख्य कुरा त परमात्म लक्षित साधकको बुद्धि सदैव निश्चयात्मक खालको एक मात्र हुन्छ । त्यस्तो बुद्धिमा दृढता पनि हुन्छ । तर संसारी रमझम र भोग संघर्षको कारोवारमा तल्लिनहरुको बुद्धि भने अनेक कुराले बिचलनमा परेर धेरैतिर छरिएको हुन्छ ।२ ज्ञानीहरुको चित्त कतै नछरिने भएकोले उनीहरुमा अस्वाभाविक आशक्ति पनि रहन्न ।

त्यसैले त्यस्ता आत्मस्थित रहनमा नै तृप्त मान्ने र त्यसैमा रमाउँने र सन्तुष्ट हुनेको लागि कुनै धर्मकर्म सम्वन्धी कार्यमा लाग्नु वा नलाग्नुमा पनि तात्विक भिन्नता रहन्न ।३ यहाँ महत्वपूर्ण कुरा यो छ कि कर्मफलमा मतलव नराख्ने त्यस्ता नित्य तृप्त साधक कर्ममा खुवै प्रवृत्त भए पनि त्यस्ताले केही पनि नराम्रो गरेको ठहर्दैन ।४ अर्को कुरा ज्ञान प्राप्त सन्तहरुको स्वभावमा स्थिरता हुन्छ । उनीहरु शान्ति र कल्याणमै केन्द्रित हुन्छन् । जवकी चित्तमा दुष्ट प्रवृत्ति हुनेहरु मौका पर्नासाथ दुष्टताकै ताकमा हुन्छन् । यसलाई एउठा कथात्मक दृष्टान्तबाट बुझौं ।

कुनै समय एउटा ठूला तत्वज्ञानी मुनि थिए । उनी विशाल जंङ्गलभित्र कुटीमा रहन्थे । त्यहाँ जो प्राप्तव्य फलफूल एवं कन्दमूलजन्य कुरा मात्र खान्थे । बाँकी समय उही कुटि रहेको आश्रममै ध्यान गरेर बस्थे । सबै प्राणीप्रति उनको राम्रो सद्भाव रहन्थ्यो । त्यसैले उनको आश्रम वरिपरि मृग खरायो जरायो जस्ता जनावर सजिलै घुमफिर गरेर चर्न र बस्न आउँथे । त्यति मात्र होइन, हिंश्रक जनावरहरु पनि त्यहाँ आइपुगे भने अहिंश्रक जस्तै हुन्थे । किनकि आश्रमको वातावरणमा उनीहरु प्रभावित भैसकेका थिए । यतिसम्म थियो कि ती मुनिमा पनि कुनै त्राश र भय थिएन ।

यसो हुँदा सवैखाले जन्तु त्यहाँ सहजै आउने जाने वस्ने गर्थे । कसैलाई कसैको भय रहन्नथ्यो । त्यहाँ कुनै खालको हिंश्रक जनावर आए पनि उनमा कुनै फरक पर्दैनथ्यो । त्यस्ता दिव्य दृष्टि खुलेका ज्ञानीहरु शोक चिन्तामा नपर्ने कुरा कठोपनिषद्ले ठोकुवै गरेको पनि छ । सो अनुसार सपनाको दृष्य प्रपञ्च र जाग्रत अवस्थाको सुख–दुःखादि प्रपन्च दुवैलाई जसले दिव्य दृष्टिले अनुभूत गर्छ त्यस्ता बुद्धिमान जन शोक एवं चिन्ताबाट प्रभावित हुने अवस्था रहन्न ।५ किनभने त्यस्ताले परम् आत्मतत्व अनुभूत गरेका हुन्छन् । आत्मरति हुन्छन् । यसैले ती मुनिको आश्रम वरिपरि अनेक खालका जंङ्गली जनावर आउँथे, बस्थे जान्थे ।

कसैलाई कसैको मतलव रहन्नथ्यो । विभिन्न जनावर मध्ये त्यहाँ एउटा कुकुर पनि रहन्थ्यो । अरु जनावर आउने जाने गरे पनि सो कुकुर चाहिँ आश्रममै रहन थाल्यो । मुनिको प्रभावले त्यसलाई अन्य कुनै जनावरको भय पनि थिएन । मुनिले जे खाने कन्दमुल एवं फलपूmल खाएर आनन्दसाथ रहन्थ्यो ।

दैव संयोग एकदिन त्यहाँ कुनै अर्को जंगलबाट एउटा नौलो बाघ आयो । त्यसले त्यहाँ कुकुर देखेपछि झम्टने प्रयास गर्यो । यो कुरा कुकुरले बुझेर त्यसबाट बच्न पुच्छर हल्लाउँदै कुईं कुईं कराउँदै मुनि समक्ष पुग्यो । मुनिले उ बाघसंग डराएको कुरा बुझे । उनले आफ्नो दिव्यशक्ति प्रयोग गरेर कुकुरलाई अजङ्गको ठूलो बाघ बनाइदिए । त्यसपछि आएको नौलो बाघ भाग्यो । फलफुल र कन्दमूल मात्र खाने त्यो कुकुर अब बाघ भएपछि आहाराको लागि जंगलमा गएर अन्य पशु मारेर खाने गर्न थाल्यो । रहँदा बस्दा कुनै दिन आश्रममा एउटा अजंगको नौलो हात्ती देखापर्यो । त्यसले त्यो बाघरुपी कुकुरलाई लक्षित गरी अगाडि बढ्यो । त्यसबाट बच्न बाघ मुनिसंगै गएर टाँसिन पुग्यो । मुनिले कुरा बुझेर आफ्नो दिव्य शक्तिले त्यो बाघरुपी कुकुरलाई भयंकरको हात्ती बनाइदिए । त्यो हात्तिको भयंकर रुप देखेर आएको हात्ती डराएर जंगलतिरै लाग्यो । आश्रमको हात्ती पनि त्यहीँ आश्रम वरिपरि रुखका कलिला पातहरु खाएर रमाउन थाल्यो ।

यसरी समय बित्दै थियो । कुनै समय त्यस जंगलमा कतैवाट एउटा यस्तो सिंह आयो जसले जंगलमा जे जनावर देख्यो त्यसलाई झम्टँदै हिँड्न थाल्यो । यो करणले गर्दा त्यस जंगलका सारा जनावरहरु एक पछि अर्को गरी अन्यत्र पलायन हुँदै गए । जंगल नै जनावर विहिन भयो । त्यसैले त्यो सिंहलाई आफ्नो आहार पाउनै मुस्किल पर्न थाल्यो । खानाकै खोजिमा हिँड्दै गर्दा एक पटक त्यो सिंह मुनिको आश्रममा आइपुग्यो । त्यसले त्यहाँ आश्रममा रहने हात्तीलाई देखेर त्यसैलाई झंटन खोज्यो । हात्ती डराएर पहिलेझैं मुनिको शरणमा पर्न गयो । मुनिले कुरा बुझेर त्यो हात्तिलाई अजङ्गको सिंह बनाइदिए । त्यसलाई देखेर आएको पहिलो सिंह त्यहाँबाट भाग्यो । यसरी कुकुरबाट बाघ, बाघबाट हात्ति र हात्तिबाट सिंह वनेको त्यो सिंह भोकाएर शिकारको लागि जङ्गलमा एता उता लाग्यो । तर जंगलमा कुनै जनावर पाएन । केही नलागेर त्यसले आश्रमको कुटिमा ध्यानमा वसेका मुनिलाइ नै मारेर खाने हाउभाउमा लाग्यो । यो कुरा मुनिले दिव्य दृष्टिले बुझि हाले । अनि उनले तुरुन्त त्यससिंहलाई उसको पहिलेकै कुकुरको योनिमा परिणत गरे । त्यति मात्र गरेनन्, त्यो दुष्टलाई आश्रमबाटै टाढा धपाई दिए । कथाको सारले यो सिद्ध भयो कि ज्ञानी सन्तहरु शान्ति र कल्याणमै केन्द्रित हुन्छन् । जवकी चित्तमा दृष्ट प्रवृत्ति हुनेहरुको दुष्ट प्रवृत्ति कहिल्यै नाश हुँदैन । अवसर पर्नासाथ उनीहरु दुष्टताकै ताकमा हुन्छन् । इति ।

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सम्भव भएसम्म सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा सवैको कल्याण हुनेछ ।
सन्दर्भाधार:–
१– या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।श्रीमद्भगवद्गीता
२– व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन । बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।ऐ ऐ
३– यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः । आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ।। ऐ ऐ
४– त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः । कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।ऐ ऐ
५– स्वप्नान्तं जागरितान्तं चोभौ येनानुपश्यति । महान्तं विभुमात्मानं मत्वा धीरो न शोचति ।।कठोपनिषद्