४ सयबर्ष पुरानो नीलबाराही नाच शुरु, गुमनाम जिवित देवताहरु

भक्तपुर
संचार गृह/ शनिबार, साउन ३२, २०७६

भक्तपुरको एतिहासिक शहर बोडे विभिन्न कला र संस्कृतिले धनी छ । यहाँ मनाइँने जात्राको पनि आफ्नै मान्यता छ । यस्तोमा बोडेमा मात्र मनाइने एतिहासिक जात्रा मध्येको एक हो नीलबाराही नाच । यो नाच चार सय बर्ष अगाडीदेखि मनाइँदै आएको स्थानीय बुद्धिजिवी बताउँछन् । यो बोडेस्थित वडा नम्बर ८ मा मात्र मनाइन्छ ।

मध्यपुरको बोडेमा प्रत्येक बर्ष नीलबाराही नाच नचाइने गरिन्छ । यो बर्षको नाच शनिबार रातिबाट शुरु हुँदैछ । जनैपूर्णिमाको पर्सिपल्ट भाद्र कृष्ण पक्ष द्धितियादेखि पञ्चमीसम्म यो नाच नचाइने गरिन्छ ।

नीलबाराही गण नाचमा १९ जना जिवित देवताहरु हुन्छन् । देवताहरुमा भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्धारपाल २ र गणेश ४ जना हुन्छन् । प्रत्येक देवताको एक एक जना ज्वाकालु (सहायक) हुन्छन् । सहयोगीहरुले देवताले भनेका कुरा गरिदिनु पर्छ । सहयोगीले देवताले नाचको क्रममा पहिरिने मुमुण्डो राख्न लैजाने, देवतालाई नमस्कार गर्न लगाउने, माथि उचाल्ने आदी काम गर्नु पर्दछ ।

देवताको पहिरन लगाएपछि देवताले बोल्न नहुने हुँदा सबै काम इसारा बाट गरिन्छ । नाच देव घरबाट निकाल्ने गरिन्छ । देव घरमा नासकुटी हुन्छ । नासकुटीमा सबै देवताहरुका प्रतिमूर्ति राखिएका हुन्छन् । नासकुटीको अगाडी अःखा हुन्छ । अःखा सानो चोक जस्तो हुन्छ । त्यहीअःखामा चार दिन सम्म नाच सिकाउने गरिन्छ ।

नाच निस्कनु अगाडी देवता घरमा मुख्य मान्छे सबै देवताहरुको घरमा गई देवताहरु आउनु पर्यो भनेर सूचनादिन जान्छन् । त्यसपछि सहयोगी देवताको मुकुण्डो लिएर जान्छन् । त्यसपछि देवता हुने मान्छेले देवताको लुगा लगाउँछन् र बिधि अनुसार पूजागरि नाच शुरु गरिन्छ । यो नाच तान्त्रिक बिधिमा आधारित नाच हो । यो नाचमा १९ जना देवता बाहेक पोँगा बजाउने १४ जनासमेत हुन्छन् ।

देवता बन्नेले नाच अवधिभर बोल्न नहुने, बस्न नहुने, घाम पानी भए पनि आफ्नो स्थान छोड्ने नमिल्ने चलन छ । देवताका सबै लुगा स्वयंम् देवता बन्नेहरुको परिवारले व्यवस्था गरेपनि अहिले भने नगरपालिकाले समेत केही सहयोग गर्दै आएको छ ।

यदि बिधि अनुसार बनाइएका देवताको मृत्यु भएको खण्डमा देवता चलाउने घरको मुली वा गुरुहरु मिलेर नयाँ देवताको स्थापना गर्ने गर्दछन् । यस्तोमा नयाँ देवता पनि आफ्नै कुलको हुनुपर्दछ । अहिले देवताको मुलभने अदुवा थरमा रहेको छ । यस अघि धों थरले देवता छान्ने गरेका थिए । देवताको मकल कुन थरमा रहने भन्ने पनि देवताको नाचकै क्रममा देवताकै मुखबाट आएपछि मात्र परिवर्तन गरिन्छ । नत्र त्यही थरले चलाउने गर्दछन् ।

कुनै व्यक्तिलाई देवता बनाइसकेपछि उसको मृत्यु नभएसम्म अर्को देवता हुन पाउने छैन । देवताहरु सबै पुरुषमात्र रहने चलन छ । यो नाच राती शुरु भयो भने रातभर वा बिहान शुरु भयो भने दिनभर चल्ने गर्दछ ।

८९ जना मान्छेहरुको अनुशासित प्रयासबाट नीलबाराही नाच सम्पन्न गरिन्छ । यो नाच देवता घरबाट निस्केर लाछिटोल, लाय्कु, विष्णुघाट भाँगुटोल हुँदै खाँसीटोलमा पुग्ने गर्छ । त्यसपछि खाँसी टोलबाट लाछिटोल हुँदै देवताघरमा फर्कने चलन छ । देवता भएको घरबाट देवताबाहिर निस्कदा सो घरमा कपडाको बत्ती बाल्ने चलन छ ।

नीलबाराही देवताले मन्दिर नजिकको जंगलमाधों थरका एक जनालाई विधि अनुसार नाच सिकाएर पठाएको किम्बदन्तिमा उल्लेख छ । उनैबाट उक्त नाच शुरु भएको जन बिश्वास छ ।


६८ बर्षिय देवता –प्रेम चन्द्र अदुवा

उमेरले ६८ बर्ष पुगेका स्थानीय प्रेम चन्द्र अदुवा ७ बर्षको उमेरदेखि नीलबाराही देवता बनेर नाचिरहेका छन् । उनी १९ जिवित देवतामध्ये एक हुन् । उनीअन्य सर्वसाधारण जस्तै आफ्नो जिविकोपार्जन गरिरहेका छन् । उनले संचारगृहसंग कुरा गर्दै भन्छन्, हामी पनि अन्य साधारण मान्छे जस्तै हौं । तर यो नाच शुरु भईसकेपछि लगाइने पहिरनले हामीलाई देवता बनाएको छ । उक्तपहिरन लगाएपछि एक किसिमको शक्ति अनुभुति हुन्छ र रातभर नाच्दा समेत कुनै थकाईको अनुभव नहुने उनी सुनाउँछन् ।

हामीले आफ्नो परम्परा जोगाउन आफूले सकेको प्रयार गरिरहेका छौं । तर, यस्ता एतिहासिक परम्परा जोगाउन राज्यले पनि ध्यान दिनुपर्ने उनी सुझाउँछन् । उनी हामी मार्फत नै जात्रा हेर्न बोडे आउन सबैमा निम्तो पनि गर्छन् ।

नीलबाराही बोडेबाट ३० मिनेट उत्तर पूर्व पर्ने जंगलमा रहेका देवता हुन् । त्यहाँ नीलबाराहीको भव्य मन्दिर समेत छ । यो नाच यहीं ठाउँको नीलबाराहीले बोडेको धों थरका मान्छेलाई ४ दिनसम्म सिकाएर पठाएको जन विश्वास रहेको प्रेम चन्द्र अदुवा बताउँछन् । यो नाच नाचेमा बोडेबासीको उन्नती, प्रगतिहुने विश्वास रही आएको छ ।

यो लेख प्रेम चन्द्र अदुवाको अन्तवार्तामा आधारित छ –