कार्यकर्तालाई प्रधानमन्त्रीको प्रश्नः सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ?

काठमाडौं
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको जानकारी दिएका छन् । विभिन्न मिडियामा प्रधानमन्त्री अस्वस्थ भएको खबर बाहिरिएपछि प्रधानमन्त्रीले आफू ठिक रहेको बताएका हुन् ।

आज बिहान ११ बजे झापा क्षेत्र नम्बर ५ का कार्यकर्ताहरुसँग कुराकानी गर्दै उनले म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ? भन्दै प्रश्न गरेका थिए । गत श्रावण २७ गते सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर नेपाल फर्किएका प्रधानमन्त्रीको स्वास्थ्यअवस्था ठिक रहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।

कार्यकर्ताहरुसँग ठट्टा गर्दै प्रधानमन्त्रीले भने, ‘म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ? हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो ।’

‘म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन’, जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले भने, ‘बाहिर त हाँगा हालेर खबर आए ।’

प्रधानमन्त्री ओली गत सोमबार मात्रै स्वास्थ्य परिक्षण गरेका सिंगापुरबाट स्वदेश फर्किएका हुन् ।

स्वास्थ्य परीक्षणको क्रममा उनी १० दिन सिंगापुर बसेका थिए । उनको १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थिया ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारका कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा गलत हल्ला फैलाइएको बताए ।

चिकित्सहरुले पनि प्रधानमन्त्री ओलीलाई अझै २० वर्ष केही नहुने बताएका छन् ।
प्रधानमन्त्री ओली अस्वस्थ भएको भन्दै बिहीबारको नेकपा सचिवालय बैठक स्थगित भएको थियो । स्थागित भएको सचिवालय बैठक आज बालुवाटारमा बसिरहेको छ ।