उत्तर कोरियाले छोडेन मिसाइल प्रक्षेपण गर्न, शान्ति वार्ताको सम्भावना नरहेको स्पष्टोक्ति

संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई अस्वीकार गरेको छ ।

दक्षिणको गतिविधिकै कारण उसँग वार्ताको सम्भावना नरहेको उत्तर कोरियाले स्पष्ट पारेको छ । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ । दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

जसबाट उत्तर कोरिया रुष्ट बनेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यस्तो गतिविधिले वार्ताको वातावरण बिगारेको बताएको छ । यसैबीच उत्तर कोरियाले आज बिहानै दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ ।

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ । पछिल्लो एक महिनामा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो ।

उसले ६ दिनअघि छोटो दूरीमा मारहान्न सक्ने दुईवटा ब्यालेस्टिक मिसाइल सी अफ जापान तर्फ प्रहार गरेको थियो ।