पत्रकार रवी लामिछानेलाई मध्य रातमा पुर्याइयो चितवन (भिडियोसहित)

चितवन
संचार गृह/ शुक्रबार, साउन ३१, २०७६

चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको घटनामा नयाँ तरङ आएको छ ।

पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पारेको भन्दै तीन जनाको नाम लिएको भिडियो सार्वजनिक भएलगत्तै घटनामा नयाँ तरङ आएको हो ।

भिडियो सार्वजनिक भएको भोलिपल्ट नै चितवन प्रहरीले भिडियोमा नाम आएको रावि लामिछाने, युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई विहीबार बेलुका नियन्त्रणमा लिएर राति नै चितवन पुर्याएको छ ।

पीडित परिवारबाट किटानी जाहेरी नपरेको भन्दै कसैलाई पक्राउ नगरेकोे प्रहरीले भिडियो सार्वजनिक भएपछि मात्रै तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पुडासैनीको हत्या भएको वा आत्महत्या भन्ने बारे अन्योल भइरहेको बेला उनको भिडियो सार्वजनिक भएपछि उनले आत्महत्या नै गरेको र भिडियोमा बताए अनुसार रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको कारण आफु मर्नबाध्य भएको उल्लेख गरेको देखिन्छ ।

घटनाको अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

यता प्रहरीले नियन्त्रणमा लिएर परिक्षणको लागि काठमाडौँ पठाएको पुडासैनीको मोबाइलको भिडियो कसरी सार्वजनिक भयो भन्ने बिषयमा प्रहरीनै जानकार छैन ।

भिडियो कसरी बाहिर आयो र परिक्षणको लागि पठाएको मोबाइलको भिडियो र सार्वजनिक भएको भिडियो एउटै हो वा होइन भन्नेसम्म पनि आफुहरुलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।
उनीहरुबीच थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।