‘प्रकाश’का नाममा विदेशी बैङ्कमा रकम भएको प्रमाणित गर्न चुनौती (विज्ञप्तिसहित)

काठमाडौं
संचार गृह/ मङ्लबार, साउन २८, २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएका छन् ।

अध्यक्ष प्रचण्डको सचिवालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा नरहेको जनाउँदै सो चुनौती दिएको हो ।‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशी बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ ।

यसप्रकारका झुठा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसअघि दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो ।