दुधकुण्ड मेलामा रेडक्रसको शिविर

सोलुखुम्बु
संचार गृह/ मङ्लबार, साउन २८, २०७६

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१, टाक्सिन्दुमा रहेको नुम्बुर हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरीमा जनै पूर्णिमाको अवसरमा लाग्ने मेलामा नेपाल रेडक्रसले स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रत्येक वर्ष मेलामा लेक लागेर धेरै भक्तजनहरु बिरामी पर्ने भएकाले त्यसलाई कम गर्न तथा बिरामीलाई सहयोग गर्नका लागि शिविरको आयोजना गरिएको रेडक्रसका सदस्य सुरेश खड्काले जानकारी दिए ।

दुधकुण्ड पोखरीमा लाग्ने मेला तथा उक्त स्थलमा उपस्थित हुने भक्तजन तथा उचाईका कारण लेक लाग्ने समस्यालाई ध्यान दिएर प्रत्येक वर्ष टोली परिचालन गर्ने गरिएको छ । हाईअल्टिच्युडका कारण समस्या आउने भएकाले स्वास्थ्यकर्मी सहितको सात जनाको टोली त्यसतर्फ परिचालन गरिएको खड्काले बताए ।

अघिल्ला वर्षहरुमा नेपाली सेना तथा प्रहरीको टोली पनि जाने गरेको थियो । आगमी ३० गते लाग्ने मेलामा पनि करिब १० जनाको शिविर टोली गइसकेको उनले बताए । उक्त मेलामा जिल्लाभित्र तथा अन्य छिमेकी जिल्लाहरुबाट समते हजारौँको संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।

हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेलामा भक्तजनहरुको भीड लाग्ने गरेको छ । मेलामा सोलुखुम्बु सहित ओखल्ढुङ्गा, खोटाङ, उदयपुरलगायत अन्य जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गरेका छन् । चार हजार ५६१ मिटरको उचाइमा अवस्थित दुधकुण्ड पोखरी धार्मिक तथा सांस्कृतिक पर्यटनका हिसाबले धेरै महत्वपूर्ण मानिएको छ ।