प्रधानमन्त्री ओली स्वदेश फिर्ता

संचार गृह/ सोमवार, साउन २७, २०७६

स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन् । साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए ।

आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले विमानस्थलमा सेनाको सलामी समेत ग्रहण गरेन् । संचारकर्मीहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन आग्रह गर्दा प्रधानमन्त्री ओलीले केही दिनमा थाहा पाइहाल्नु हुन्छ भन्दै विमानस्थलबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री ओली गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन् ।

सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिव्या सिंह लगायतको टोली सिंगापुर गएको थियो ।