लोडसेडिङको मारमा उदयपुर सिमेन्ट उद्योग

उदयपुर
संचार गृह/ शनिबार, साउन २५, २०७६

दुई महिना लामो बन्द पछि पुनः संचालनमा आएको उदयपुर सिमेन्ट उद्योग लोडसेडिङको मारमा परेको छ ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण पटक पटक विद्युत आपुर्तिमा अबरोध, विद्युत भोल्टेज गडबढी जस्ता समस्याले उद्योगले ५० प्रतिसत लक्ष्यमा पुग्न नसकिने जनाएको छ ।

साउन २४ गते शुक्रबारदेखि शनिबार बिहान ९ बजेसम्म ५ पटक विद्युत आपुर्ति बन्द हुँदा ७ सय बोरा सिमेन्ट उत्पादन हुनु पर्नेमा ४ सय बोरा मात्र उत्पादन हुन सकेको उद्योगले जनाएको छ ।

उदयपुर सिमेन्ट उद्योगले डेलिगेटेट चार्ज बुझाउँदै आएको छ । विद्युत भोल्टेजको गडबढिले हाइटेन्सनमा रहेको सस्पेन्सन प्रि हिटर फ्यान बिग्रिए पछि जेठ २० गतेदेखि बन्द भएको उद्योग नेपाल इन्जिनियरिङ एण्ड हाइड्रो वर्क शप बुटबलबाट मर्मत गरेर ल्याए पछि बुधबारदेखि पुनः संचालनमा आएको थियो ।

देश लोडसेडिङ मुक्त भैसकेको भनिए पनि पटक पटक लाइन जाने समस्याबाट मुक्त हुन नसक्दा उत्पादनमा ह्रास आएको गुनासो उद्योगको छ । दैनिक ८ सय टन उत्पादन क्षमता रहेको उद्योगले आब २०७५/०७६ मा २२ लाख ६२ हजार ४ सय ४२ बोरा सिमेन्ट उत्पादन गरेको छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग जापानको ओभरसिज ईलेक्ट्रोनिक को-अपरेसन फ्रन्टको करिब २९ अरब ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख लगानिमा गैडा छाप लोगोमा सिमेन्ट उत्पादन गर्दै २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।