भागवत् बुझ्ने आफ्नो क्षमता आफैं जाँच्ने सूत्र

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, साउन २५, २०७६

श्रीमद्भागवत् वेद उपनिषद्मा भएका सैद्धान्तिक कुरालाई सरल र सहज भाषामा व्याख्या भएको शास्त्र हो । भागवत्भन्दा पहिला महामुनि वेदव्यासले सांसारिक दुःखबाट पार हुने उपाय बताउने सन्दर्भमा अनेक तरिकाबाट भगवत् तत्व बुझाउन अठार पुराण रचना गरे । अझ त्यसलाई अनेक दृष्टान्त दिई व्यावहारिक तरिकाबाट बुझाउन उनले माहाभारत ग्रन्थ पनि तयार पारे । त्यसबाट पनि चाहे बमोजिम खुलस्त हुन नसकेको भान उनलाई पर्न गयो । त्यसैले सारा पुराण र माहाभारतका अर्तिका भाव समेत संगेटिने गरी उनले श्रीमद्भागवत् गन्थ तयार पारेका हुन् । अतः श्रीमद्भागवत् स्वभावैले उच्च कोटिको ग्रन्थ हो । यसो हुनमा मुख्य कारण यसमा साराका सारा पूराणको भावमय रस पर्न गएको छ । त्यसैले भागवत्मा जसको रस बस्छ उसलाई अन्य ग्रन्थ हल्का लाग्ने कुरा सोही समयमा भागवत्मा ठोकुवै गरिएको कुरा हो ।१

भागवत् अति बृहत् छ । यसको व्याख्याबाट तत्वज्ञान बुझाउन सोही समयमा स्वामी शुकदेवलाई सातदिन लागेको थियो । यसै अनुरुप आजसम्म पनि सात दिन लगाएर भागवत् सप्ताह भन्ने चलन छ । एति भएतापनि सारभूतरुपमा तत्वज्ञान दिलाउने उदेश्यले महामुनि वेदव्यासले भागवत्मै जम्मा जम्मी चार श्लोकमा भागवत्को सार खिचेका
छन् । चार श्लोकमा टुंगिएकोले सो सारतत्वलाई चतुषश्लोकी भागवत् भनिन्छ । गहिरिएर मनन् गर्नेको लागि चतुषश्लोकी भागवत्बाटै सारा भागवत्को झलक खुल्ने हुन्छ । अतः सो चार श्लोकमा खुलाइए बमोजिम भागवत्को मूलभूत कुरा कसैले बुझ्दैन भने उसमा भागवत् बुझ्ने क्षमता नभएको प्रष्ट हुन्छ ।

सबैले बुझ्ने गरी बुझाउने क्षमता भागवत् भन्नेमा नरहनु अर्कै कुरा हो । त्यस्तै गहिरिएर बुझन त्यसमा चित्त केन्द्रित नगर्नु वा कसैको बुद्धि विचलनमा परी मुढ हुनाका कारण बुझ्ने क्षमता नै नहुनु अर्कै कुरा हो । किनभने नजिकै आउँदै गरेको मुत्यु संझेर वेचैनीमा परेका राजा परीक्षितलाई स्वामी शुकदेवले सात दिन लगाएर भागवत् सुनाएपछि राजामा मुत्युजस्तो ठूलो दुःखको भय समेत हटेर उनमा तत्वज्ञान मिलेर कृतकृत्य भएको दृष्टान्त त सोही ग्रन्थबाटै प्रष्ट हुन्छ । अतः एक पटक सो चतुषश्लोकी भागवतको सार खिच्नतर्फ लार्गौं ।

खासरुपमा आकासमा चन्द्रमा एउटा मात्र हुन्छ । तथापि आँखालाई औंलाले थिचेर हेर्ने हो भने आँखाको दृष्टि दोषको कारणले गर्दा सो एक चन्द्रमा दुइवटा प्रतीत हुन पुग्छ । त्यस्तै अर्को दृष्टान्त हेरौं । आकाशमा राहुमण्डल अवस्य छ ।

यो ब्रह्माण्ड जगत्को सृष्टिभन्दा पहिले एउटा सत्ता मात्र थियो । सो सत्ता कस्तो हुन्छ भन्नेमा योगवासिष्ठबाट थप स्पष्ट हुन्छ । जस अनुसार सो सत्ता निराकार खालको हो । यो मनको दायराभन्दा पनि बाहिरको कुरा हो । सो सत्ता अचल र गम्भीर अर्थात् शान्तस्वरुप खालको छ । सूर्यको प्रकाशझैं तेजयुक्त भइकन निराकार हुनाले ठाडो बुद्धिबाट अनुभूतिमा आउने कुरा होइन । त्यसैले सो तत्व कुनै हालतमा पनि यस्तै हो भनेर अभिव्यक्त गर्न नसकिने खालको आभाषसून्य हो । जुन भूत वर्तमान एवं भविष्य तीनै कालमा सदैव अस्तित्वमा विद्यमान रहने तत्व त्यो हो ।२ यसरी सृष्टिपूर्व सो सत्तादेखि बाहेक अरु केही थिएन । अहिले देखिन र बुझ्नमा आएका साराका सारा स्थूल कुराहरु सोही तत्वमा लीन भएको अवस्थामा थिए । त्यस्तै औंल्याउन नसकिने खालका सूक्ष्म र प्रकृतिका उर्वराशक्ति जस्ता सूक्ष्मतम् तत्वहरु एवं तिनीहरुको उत्पत्तिका कारण तत्व समेत सोही तत्वमा लीन थिए । यस अर्थमा कारण तत्व भन्नाले अज्ञान भन्ने हुन्छ । सृष्टि पश्चात्को अवस्थामा पनि यहाँ जे जति सृष्टि छैन त्यो पनि सोही सत्तामा निहित रहेको हुन्छ । त्यसैगरी सृष्टिको रुपमा जे जति विषय वस्तु प्रतीत भैरहेका छन् त्यो पनि सोही तत्वमा गाँसिएका छन् । पछि प्रलयकाल पश्चात् जे तत्व बांकी रहला त्यस अवस्थामा पनि सोही सत्ता मात्र बाँकी रहन्छ ।३ उसैलाई हामी परमात्मा भन्ने बुझ्छौं । त्यसैले ब्रह्माण्ड जगतमा परमात्मसत्ता बाहेक अरु सवै विषय वस्तुको अस्तित्व जाना आना खालको मात्र छ । सो बाहेक यहाँका अन्य विषय वस्तु अविनाशी खालका होइनन् । नाशवान् हुन् ।

यो अविनाशी परमात्म सत्ता सदैव विद्यमान भएर पनि प्रत्यक्ष देख्नमा आउँदैन । तथापि साराका सारा प्राणी एवं ब्रह्माण्ड जगत लगायत प्रकृति सोही तत्वमा निहित भएको अनुभूति हुन्छ । यसलाई एउटा दृष्टान्तबाट स्पष्ट हुनु आवस्यक छ । खासरुपमा आकासमा चन्द्रमा एउटा मात्र हुन्छ । तथापि आँखालाई औंलाले थिचेर हेर्ने हो भने आँखाको दृष्टि दोषको कारणले गर्दा सो एक चन्द्रमा दुइवटा प्रतीत हुन पुग्छ । त्यस्तै अर्को दृष्टान्त हेरौं । आकाशमा राहुमण्डल अवस्य छ । तर त्यो भएर पनि नभएझैं तीनको प्रतीति कहिल्यै हुँदैन । त्यस्तै ब्रह्माण्ड जगतमा यस्ता भ्रममय उदाहरण प्रशस्त पाइन्छन् । त्यस्ता भएर पनि नभएझैं वा एक थरी भएर अर्कोथरी आभाषमा आउने भ्रममय कुराहरु नै सो परमात्म तत्वको माया हो भनेर बुझ्नुपर्छ । यस अर्थमा माया भन्नाले प्रेम भन्ने होइन । यथार्थमा नभएको कुरा हो जस्तो लाग्नु माया हो ।४

शरीर पनि पञ्चमहाभूतबाटै बनेको हो । तथापि यस्तो कुरा कदापि मनले सहज स्वीकार्दैन । यसलाई सानो दृष्टान्तबाट हेरौं । गमला माटोबाट बनेको हुन्छ । त्यसैले गमलाबाट माटो कदापि भिन्न होइन । त्यसो भएतापनि गमला तयार भएपछि त्यसमा न माटो देखिनमा आउँछ न गमला देख्दा माटोको संझना आउँछ । यसरी गमलामा माटो उपादान कारण हो ।

पञ्चमहाभूतमा पृथ्वी, जल, तेज, वायु आकाश पर्दछन् । ब्रह्माण्ड जगतका यावत् कुराहरु सोही पञ्चमहाभूतबाट बनेको हुन्छ । यसरी बनेका अनेक खालका पदार्थहरुमा पञ्चमहाभूत निहित हुँदा हुँदै पनि नभएझैं लाग्ने अवस्था रहन्छ । शरीर पनि पञ्चमहाभूतबाटै बनेको हो । तथापि यस्तो कुरा कदापि मनले सहज स्वीकार्दैन । यसलाई सानो दृष्टान्तबाट हेरौं । गमला माटोबाट बनेको हुन्छ । त्यसैले गमलाबाट माटो कदापि भिन्न होइन । त्यसो भएतापनि गमला तयार भएपछि त्यसमा न माटो देखिनमा आउँछ न गमला देख्दा माटोको संझना आउँछ । यसरी गमलामा माटो उपादान कारण हो । गमलामा माटो अभिन्न भइकन त्यसमा माटोको याद नरहेझैं ब्रह्माण्ड जगतका यावत् पदार्थहरुमा परमात्म सत्ता गाँसिएकोले ती सवैमा परमात्म सत्ता छ । तर पनि प्रत्येक पदार्थमा परमात्म सत्ता भएर पनि प्रष्ट सिद्ध नहुने हुनाले छैन भन्ने अवस्था पनि रहन्छ ।५ भागवत्बाट बुझ्नु पर्ने मुख्य कुरा यिनै हुन् । यस्ता गहन् र गुह्य कुरा जसले भित्री तवरले बुझ्छ उसले भागवत् बुझेको क्षमता राख्ने ठहर्छ । संसारमा बडा बडा प्रतापी एवं महान् पुरुषहरुले जन्म लिए । अनि यस लोकमा तिनीहरुले आफ्ना अनेकखाले यशको विस्तार गरेर यस लोकबाट चले । भागवत्मा यस्ता कथा धेरै आउँछन् । त्यस्ता कथा मात्र सुनेर कुनै तार लाग्नेवाला छैन । किनभने भागवत्मा तत्वज्ञान र वैराग्यको उपदेश गर्नको लागि नै अनेकानेक ती कथाहरु समेत बताइएका हुन् । धेरैजसो भागवत् सुन्ने सुनाउने त्यस्तै कुरामा केन्द्रित हुन्छन् । तर ती सवै दृष्टान्तस्वरुप भएकोले वाणीका विलास मात्र हुन् । त्यस्ता कथामा पारमार्थिक सत्य कुनै पनि छैन । तत्वज्ञानको सन्दर्भमा ती सवै विर्से हुन्छ भन्ने कुरा भागवत्मै स्पष्ट बताइएको कुरा हो ।६

न्यूनतम् कुरा के हो भने ब्रह्माण्ड जगतका साराका सारा कुरा अन्वय एवं व्यतिरेक दुवै तरिकाबाट उही परमात्म सत्तामा गाँसिएको छ । अतः बुझ्नु पर्ने कुरा यो हो कि अन्वय र व्यतिरेकद्धारा जुन वस्तु सदैव सर्वत्र निहित हुन्छ त्यो नै वास्तविक तत्व हो ।

जे जसो भएपनि सो परम् आत्मतत्व अर्थात् परमात्म तत्वका सम्वन्धमा जिज्ञाशा उठ्नु स्वाभाविकै हो । त्यसरी जिज्ञाशा राखेर तत्वज्ञान चाहनेले धेरै विचार गर्नु आवस्यक छैन । थोरै कुराबाट धेरै बुझ्न कोसिश गर्नु पर्छ । उदाहरणको लागि माटोविना गमला बन्दैन । अतः गमलाबाट माटो भिन्न होइन । यस्तो अभिन्नसंग रहेर गाँसिनुलाई अन्वय भनिन्छ । त्यसैगरी कुम्हालेविना गमला वन्न असमभव छ । तर गमलामा कुम्हाले कहिल्यै टाँसिएको हुँदैन । यस्तो छुट्निेलाई व्यतिरेक भनिन्छ । यसप्रकार न्यूनतम् कुरा के हो भने ब्रह्माण्ड जगतका साराका सारा कुरा अन्वय एवं व्यतिरेक दुवै तरिकाबाट उही परमात्म सत्तामा गाँसिएको छ । अतः बुझ्नु पर्ने कुरा यो हो कि अन्वय र व्यतिरेकद्धारा जुन वस्तु सदैव सर्वत्र निहित हुन्छ त्यो नै वास्तविक तत्व हो ।७ उपर्युक्त तत्वज्ञानका गुह्य कुरा बाहेक पनि भागवत्मा धेरै कुरा समावेस भएका छन् ।

यसरी हेर्दा भागवत्मा भगवत् भक्तिका कुरा प्रशस्त छन् । धर्म कर्मका अनेक चर्चा छन् । धर्मको लागि अपनाउनु पर्ने विषय–वस्तुका कुरा छन् । त्यसका बाधक तत्व माया एवं मायिक संरचनाका कुरा छन् । धर्मको अधिष्ठानको रुपमा रहेका परब्रह्म परमात्माको विलक्षणता कुरा छ । जीव, जगत् प्रकृतिका कुरा छन् । प्रकृतिका त्रिगुण र यसबाट पर्ने प्रभावका कुरा छन् । परमात्म स्तुतिहरु त्यत्तिकै छन् । भगवत् कथा लीलाहरु छन् । कैयौं दृष्टान्त दर्शाउन आशीर्वाद र श्रापमा आधारित कथाहरु पनि छन् । मान्छेले अपनाउन उपयुक्त अर्ति उपदेशहरु छन् । मतलव, समाजका विभिन्न वर्गका मानिसलाई मानव उचित क्रियाकलापमा लाग्न मिल्ने गरी प्रदान गरिएका अर्ति उपदेश पनि भागवतमा छ ।

छोट्करीमा भन्ने हो मान्छेलाइ सत् आचरणमा रहन सिकाउने ग्रन्थ भागवत् हो । सांसारिक दुःख बुझेर परम् सुखतर्फ उन्मुख गराउने शास्त्र भागवत् हो । दुःख बन्धनबाट पार भएर मुक्तिको उपाय सिकाउने ग्रन्थ हो । सो मुक्तिको अवस्थामा परम् आनन्द के हो र कसरी मिल्छ भन्ने कुरा पनि भागवत्मै छ । अतः भागवत् भक्तहरुको मात्र आकर्षणको ग्रन्थ होइन । भोगीदेखि योगीसम्म, धार्मिकदेखि अधर्मीसम्म, धनाड्यदेखि दुःखी दरीद्रसम्म, विद्धानदेखि मूर्खसम्म, इलमीदेखि वेरोजगारसम्म सवै वर्गलाई संगेट्ने शास्त्र कुनै छ भने त्यो हो श्रीमद्भागवत् । इति ।

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सम्भव भएसम्म सेयर गरेर
ज्ञानका कुरा फैलाउनुमा सवैको कल्याण हुनेछ ।

सन्दर्भाधार:–
१– श्रीमद्भागवत् १२।१३।१५ २– योगवासिष्ठ ३।१।११ ३–५ श्रीमद्भागवत् २।९।३२–३४ ६– श्रीमद्भागवत् १२।३।१४ ७–श्रीमद्भागवत् २।९।३५