पथलैया-वीरगन्ज ६ लेनको व्यापारिक मार्गमा अवरोध,एउटा रुख बन्यो तगारो

बारा
संचार गृह/ शनिबार, साउन २५, २०७६

दुई वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २०७३ असार २९ गतेदेखि निर्माण थालेको पथलैया-वीरगन्ज ६ लेनको व्यापारिक मार्ग एउटा रुखका कारण रोकिएको छ ।

आयोजनाको म्याद पटकपटक थप गरिए पनि गत फागुनदेखि एउटा रुखका कारण निर्माण कार्य रोकिएको हो ।

स्थानीयवासीले २५ मिटर समयमै नछाड्दा र निर्माण कम्पनीको ढिलाइका कारण लम्बिएको राष्ट्रिय योजना विगत ६ महिनादेखि भने एउटा रुखका कारण रोकिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जको सो रुख सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेसम्म काट्न नमिल्ने अडान लिएपछि आयोजनाको काम रोकिएको हो ।

गत फागुनमा पाइपलाइन विस्तारका क्रममा ९ किलोमिटर सडकको २५ मिटरभित्रका सबै रुख काटिए पनि पथलैयादेखि १ किलोमिटर दक्षिणमा रहेको उक्त रुख टिम्बर कर्पोरेसन अफ नेपाल (टिसीएन)ले छपान गर्दा छुटाएपछि अहिले रुख काट्न निकुन्जले रोक लगाएको योजनाले जनाएको छ ।

फागुनदेखि एउटा रुखका कारण काम रोकिएको र सडक विभागका एक जना कर्मचारी अनुमती लिन प्रत्येक दिन वन मन्त्रालय जाने गरेको तर मन्त्रालयले आजसम्म अनुमति नदिँदा राज्यले निर्माण कम्पनीलाई करोडौं बिलम्ब शुल्क दिनुपर्ने भएको छ ।

निकुन्ज प्रमुखले व्यवहारिक र विशेषाधिकार प्रयोग गर्न नचाहँदा र ईआइए गरेर काट्नुस् भनेपछि योजना अलपत्रमा परेको योजना र निर्माण कम्पनीले जनाएका छन् ।

राष्ट्रिय आयोजनामा विषयमा निकुन्ज अलिकति पनि लचिलो नबनेको र वन मन्त्रालयले अनुमति ६ महिनादेखि रोकिएको निर्माणको काम अल्झेको हुँदा निकुन्ज प्रमुखसँग हुने अधिकार प्रयोग नगरी सानो कुरामा निकुन्जले कार्यविधि खोज्दा राज्यको दैनिक करोडौं नोक्सान भएको छ ।

निकुन्जका प्रमुख संरक्षण अधिकृतलाई अत्यावश्यक क्षेत्रमा एक-दुई रुख काट्न सक्ने अधिकार रहने स्वीकार गर्दै प्रमुख अमिर महर्जनले त्यो रुखले वातावरण, वन, वन्यजन्तुलाई पर्ने प्रभाव र असरबारे इआइए नगरेसम्म अनुमति दिन नसकिने बताए ।

निर्माण कम्पनीका एक प्राबिधिकले एउटा रुखका कारण राज्यको काम ढिलाई भैरहेको र आफुहरु समेतले घाटा ब्योहोर्नु परेको बताए ।

एसियन हाईवेको अवधारणमा निर्माण थालिएको पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत पथलैयादेखि सुक्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण सुरु भएको हो ।

२०७५ पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने योजनाको काम जितपुर, परवानीपुर, सिमराबजारको सडकमा रहेका संरचना हटाउनदेखि विद्युत्का पोल, उद्योगको नाला, खानेपानीलगायतका कारणले ढिलो भएको र पटकपटक समय थप गरिँदै आएको हो ।

३ सय ५० करोड रुपैयाँको लागत रहेको यो योजनामा सरकारी निकायहरूबीचकै समन्वयको अभाव हुँदा सुस्त निर्माण भरहेको हो ।