निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष शिलान्यास हुन्छ – पर्यटनमन्त्री भट्टराई

काठमाडौं
संचार गृह/ आइतवार, साउन १९, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसै वर्ष निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि राखेको कार्यक्रममा उनले विमानस्थल निर्माणको चर्चा शुरु भएको २४ वर्ष पुगिसकेको भन्दै उनले २५ औं वर्षमा शिलान्यास हुने आश्वासन दिएका हुन् ।

सरकारले वन मास्ने उद्देश्यले यो विमानस्थल बनाउन नथालेको उनले स्पष्ट पारे । समितिमा सांसद सरिता गिरीले नेपालमा ठूला परियोजनाको औचित्य नरहेको भन्दै स-साना विमानस्थल मात्र बनाउनु पर्ने सुझाव दिएकी थिइन् ।

उनको सुझावमा प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प खोज्न नहुने बताए । अनेकौं अध्ययनले यो स्थान छनोट गरेको भन्दै निजगढ विमानस्थल नेपालको अर्थतन्त्र विकासका लागि ठूलो अवसर भएको बताए ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा केवल टाउको गन्ने काम मात्र नहुने भन्दै पर्यटन विकासको आधार वर्षका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री भट्टराईले यसै वर्ष राजविराज, भरतपुर र सुर्खेत विमानस्थललाई रात्रीकालिन उडानका लागि योग्य बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै समितिको बैठकमा मन्त्री भट्टराई भक्कानिएर रोएका छन् । उक्त कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । २०४३ सालमा नेता नेपालले आफूलाई बचाएको प्रसंग उल्लेख गर्दै भट्टराई भक्कानिएका हुन् ।