भिटोफमा साधारणसभाको चटारो

काठमाडौं
संचार गृह/ शनिबार, साउन ११, २०७६

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ-नेपाल) यतिबेला साउन १५ गते हुने आफ्नो साधारणसभालाई लिएर तातेको छ । तर यो पटकको तताई भने साधारणसभा सम्पन्न गर्न पदाधिकारीहरुको व्यस्थताले गर्दा भएको हो ।

२३ औं वार्षिक साधारणसभा सँगै भिटोफले २३ औं गाउँ पर्यटन दिवस पनि सोही दिन अर्थात (जुलाई ३१) का दिन काठमाडौंमा आयोजना गर्न लागेको हो ।

गत असार २६ गते वसेको मञ्चको कार्यसमिति बैठकको निर्णय अनुसारनै श्रावण १५ मा साधारणसभा गर्ने निर्णय गरेको मञ्चका द्धितिय उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले वताए ।

भिटोफ पर्यटन व्यावसायीहरुको छाता संगठन हो । यसले देशका विभिन्न जिल्लामा रहेका तर आझेलमा परेका गाउँहरुको प्रर्बद्धन गरी त्यस्ता ठाउँमा पर्यटक पुर्याउने बाटो खोल्दै आएको छ ।

स्थापनाकालदेखि हालसम्म भिटोफले दर्जनौं गाउँहरुको प्रवद्र्धन गरिसकेको छ । भिटोफमा ६ पटक अध्यक्ष समेत परिवर्तन भईसकेका छन् ।हालको अध्यक्ष ध्रुव सिंखडा हुन् । भिटोफमा हाल रहेका कार्यसमितिका सदस्यहरु पनि लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आईरहेकाहरु छन् । जसले गर्दा भिटोफका हर क्रियाकलापमा अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुको पनि आँखा टिक्ने गर्दछ ।

भिटोफले साधारणसभा मार्फत यो बर्ष तिन वटा गाउँहरुलाई नयाँ गन्तव्यको रुपमा घोषणा गर्न लागेको छ । जसअन्तर्गत बाग्लुङ, रामेछाप र रारासम्म पुगेर संस्थाले तयारीसमेत गरिसकेको मिडिया संयोजक थापा बताउँछन् ।

भिटोफले बाग्लुङको काठेखोलास्थित शिवधुरी गाउँका बासिन्दालाई होमस्टे तालिम दिनुका साथै होमस्टे उत्घाटन समेत गरेको छ । यस्तै रामेछापको दोरम्बामा नयाँ गन्तव्य सार्वजनिक र होमस्टे उत्घाटनको काम समेत गरेको छ । यस्तै राराको मुर्मामा पनि होमस्टे तालिम र गाउँलाई चिनाउने काम भिटोफले गरेको छ ।

यो सँगै भिटोफले आफ्नै पहलमा पहिला घोषणा गरिएका होमस्टेहरुको अवस्था र क्षमता अभिबृद्धिका कामहरु पनि गरिरहेको छ ।
यस्तै धादिङको धुनीवेशीमा असार १५ मा भिटोफले भव्यताका साथ रोपाई जात्रा समेत मनाएको छ । हरेक बर्ष विशेष रहने भिटोफको रोपाईं जात्रामा पनि नयाँ गन्तव्यकै खोजी गरी प्रचार गर्ने काम भईरहेको छ ।

यो सँगै साधारणसभामा तीन होमस्टेबाट पनि उत्कृष्ट होमस्टे छानिने बताइएको छ । कार्यक्रममा छापा, अनलाइन र टेलिभिजनका गरी तीन जना पत्रकारहरुलाई समेत सम्मान गरिँदैछ ।

काठमाडौंको पकनाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा हुने कार्यक्रमको प्रमुख अतिथिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहने बताइएको छ । यस्तै विशेष अतिथिमा विश्वप्रकाश शर्मा, योगेश भट्टराई रहने बताइएको छ । यस्तै पर्यटन सचिव मोहन कृष्ण सापकोटा, श्रीलंकन एम्बेस्डरलगायतका विशिष्ठ पाहुनाहरुको उपस्थितिमा भिटोफले आफ्नो साधारणसभा सम्पन्न गर्दैछ ।

भिटोफ २०५४ सालमा स्थापना भएको संस्था हो । हालसम्म सूर्य प्रकाश श्रेष्ठ, बोधराज भण्डारी, शिव लामिछाने, चित्रबहादुर गुरुङ र कमल सापकोटा अध्यक्ष भईसकेका छन् ।

भिटोफ नेपालमा झण्डै सात सय जना सदस्य छन् । यसको शाखा हाल पोखरामा रहेको छ ।