सुखको भारी बोकेर भौंतारिने दुःखी मान्छे

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, साउन ११, २०७६

मान्छेले भोग्ने मानसिक सुख दुःखका सन्दर्भमा हाम्रा शास्त्रहरुले संकेत गर्न भुलेका छैनन् । यस्तै कुरालाई लिएर श्रीमद्भागवत्मा एउटा प्रशङ्ग आउँछ । सो अनुसार पनि कुनै विषय कहिल्यै देखेको र सुनेको छैन भने त्यस्ता विषय वस्तुबाट चित्त प्रभावित हुँदैन । यसो हुँदा त्यस्ता नदेखेका नसोचेका कुराबाट चित्तमा बिकार आउन पनि सम्भव छैन । अनि मन विचलनमा पर्ने कुरा पनि भएन । उदाहरणको लागि आजभन्दा पचास बर्ष अघि न कसैले मोवाइल देखेको थियो न यसबाट कुरा गरेको थियो । त्यो बेलाका मानिसमा मोवाइल प्रयोगको कुनै दृष्य सपनामा देख्नमा समेत आउन्नथ्यो । किनकि त्यो बेला मोवाइल भन्ने कुरा कसैलाई थाहै थिएन ।


आफ्नो स्वाभाविक प्रयासबाट जो प्राप्तव्य छ त्यसैमा सन्तोष मानेर तृप्त रहने शान्त मन हुनेहरुलाई जुन सुख मिलेको हुन्छ त्यस्तो सुख धन एवं स्वार्थको मोहमा परी यता र उता दौडधुप गर्नेलाई मिल्न सम्भव छैन ।


यही तथ्य अनुरुप कसैले सांसारिक विषय वस्तुमा अस्वाभाविक अर्थात् abnormal तरिकाले आशक्तिमा पर्दैन भने त्यस्ता विषयवस्तुबाट उसको चित्त प्रभावित हुँदैन । अनि त्यस्ताको चित्त आफ्सेआफ निश्चल रहन्छ ।१ चित्त जति निश्चल र शान्त हुन्छ त्यत्ति नै क्षमतावान पनि हुन्छ । त्यो क्षमताले मन स्थिर हुन्छ । त्यस्तो स्थिर र संयमित् मनबाट जे जति सुख शान्ति मिल्छ त्यत्ति सुख अन्य कुनै धन सम्पति, पराक्रम वा इष्ट मित्रबाट मिल्दैन ।२ मतलव, आफ्नो स्वाभाविक प्रयासबाट जो प्राप्तव्य छ त्यसैमा सन्तोष मानेर तृप्त रहने शान्त मन हुनेहरुलाई जुन सुख मिलेको हुन्छ त्यस्तो सुख धन एवं स्वार्थको मोहमा परी यता र उता दौडधुप गर्नेलाई मिल्न सम्भव छैन ।३ किनकि सन्तोष आफूमा आफैं रमाउने आत्मरतिमा हुन्छ । आत्म निर्भरमा हुन्छ । बन्धनमा होइन स्वतन्त्रतामा हुन्छ । दृष्टान्तको लागि पानीमा पाकेको हल्का फुल्का जे छ त्यो खाएर बस्नु वेस कि अर्काको धक मानेर अनेक भावनात्मक बन्धनमा रहेर मिष्ठान खानु वेस भन्नेमा विचार गर्ने हो भने पानीमै पाकेका रुख्खा सुख्खा खाएर निर्धक्क बस्नुमै सुख मिल्नेमा द्धिविधा रहन्न ।४ यो कुरालाई माहाभारतले ठोकुवै गरेको छ । यस्ता सानो इसाराबाट धेरै कुरा बुझ्नु महानता हो ।

आत्मा सवैको जीवन आधारको तत्व हो । अतः त्यो सवैमा हुने नै भयो । जवकि आत्माको स्वरुप भन्नु नै सुख हो । त्यसैले सवैको जीवन सुखको श्रोतमै आधारित छ । मतलव, सो परम् सुख श्रोतको मुहानमै जीवन छ । यसो हुँदाहुँदै पनि मान्छे सुख प्राप्तिको लागि जीवनभर अनेक प्रयत्नमा लाग्छ । तथापि उसको लागि सुखको अनुभूति मुस्किलकै कुरा हुन्छ । यसको एउटै मात्र कारण भित्री तवरले सुख अनुभूति हुने थलो चित्तमा उसका आसक्तियुक्त चेष्टाका विकारी भाव लादिनु हो । त्यस्ता लादिएका भावले चित्तमा मलिनता आउँछ । त्यो मलीनताले आफूभित्रैबाट मिल्ने सुख छेकिन गई टाढिन पुग्छ । अनि सुखको खोजिमा लाग्दा दुःखमा भुल्न पुग्छ । जवकि चित्तका विकारी हटे स्वभावतः भित्री सुख मिल्ने हुन्छ ।५

जव बच्चा ठूलो हुँदै जान्छ अनि उसमा आफू केही गर्न सक्छु भन्ने खालको कर्ता–भोक्तापनको विकास हुन्छ । सोही अनुरुप उसले अनेक सम्भव, असम्भव आकांक्षा राखेर त्यो प्राप्त गर्न मरि मेटेर लाग्छ । यसो हुँदा यस अघि बताइएझैंको स्वाभाविक तारतम्य उसलाई जच्न छाड्छ ।

बास्तवमा सुख–दुःख भन्ने कुरा बुझेर बुझी नसक्नुको छ । किनभने जीउनलाई खानु पर्छ खानको लागि जुन संघर्ष गरिन्छ त्यसलाई दुःख मान्ने या नमान्ने भ्रम रहन्छ । किनभने संसारमा अरवौं हुने पनि बाच्छन् र सय रुपैंया वा त्यही नहुने पनि बाँच्छन् । तथापि बाँच्न ती सवै वर्गले संघर्ष गरेकै हुन्छन् । संघर्षको प्रकार मात्र फरक हुने हो ।६ अर्को कुरा बच्चा जन्मनुभन्दा अघि नै उसको आमा मार्फत प्रकृतिमय तरिकाले उसको खानाको रुपमा दुधको व्यवस्था भएको हुन्छ । अनि उ ठूलो हँदै गएपछि अर्को तरिकाबाट त्यस्तो तारतम्य नमिल्ने पक्कै हुँदैन । तर जव बच्चा ठूलो हुँदै जान्छ अनि उसमा आफू केही गर्न सक्छु भन्ने खालको कर्ता–भोक्तापनको विकास हुन्छ । सोही अनुरुप उसले अनेक सम्भव, असम्भव आकांक्षा राखेर त्यो प्राप्त गर्न मरि मेटेर लाग्छ । यसो हुँदा यस अघि बताइएझैंको स्वाभाविक तारतम्य उसलाई जच्न छाड्छ । भनाईको मतलव चाहिनेभन्दा अधिक इच्छा आकांक्षाको आवरणमा उसको चित्त पर्न जान्छ । स्वाभाविकरुपले प्राप्त हुने भित्री सुख प्राप्तिमा बाधक तत्व त्यही आवरण हो । यहाँ हितोपदेशको एउटा सन्दर्भ मिल्न आउँछ । सो अनुसार हाँस पानी र हिलोमा खेल्ने वर्गको चरो हो । तथापि तथापि हाँसहरु सदैव सुकिला हुन्छन् । त्यो तारतम्य कुनै मानवीय क्षमताले मिल्ने कुरा होइन । त्यसैगरी सुगाहरु हरियो बनाइएका छन् । मयूरमा अनेक रङ्गको तारतम्य छ । यसरी कसमा के कस्तो उपयुक्त हुन्छ सोही अनुसारको सृष्टि रटना जसले गर्छ उसैबाट संसारमा जन्मिनेको जीविका स्वभावैले मिलेको हुन्छ । अतः तप सुखको लागि चिन्ता गर्दैमा हुनेवाला केही छैन ।७

मान्छेले सुखसाथ जीउन के कसो गर्नु पर्छ भन्नेमा पनि शास्त्र संकेत गर्न भुल्दैन । यस्तै संकेत अनुसार जुन पाइएन त्यो मेरो थिएन र जुन प्रयास गर्दा पनि पाईंदैन त्यो पनि मेरो होइन भन्ने ठानेर जो चिन्ता गर्दैन त्यो नै सुखी शान्त र बुद्धिमान पनि हो ।८ अर्को कुरा यति दिन्छु, यति गर्छु अहिलेसम्म यति गरें भन्ने जस्ता कुरा मनमा लिने वानी नै मानसिक दुःखको मुख्य कारण हो । त्यसैले सुख चाहनेले यस्ता फजुल कुरा मनमा लिने वानी छोड्नु पर्छ ।९ अर्को कुरा कतिपय सुख–दुःख मान्छेको आफ्नै स्वभावमा पनि भर पर्छ । किनभने कोही यस्ता हुन्छन् कि जतिसुकै सुख पाए पनि पहिलाको दुःख संझेर पिल्सिएर जीउँछन् । त्यस्तै कोही भने दुःखको बेला पनि पछिको सुखको आशमा रमाएरै जीउने हुन्छन् ।१० हुन पनि त जसले वितिसकेको दुःखलाई सम्झेर पछि शोक गर्छ उसले एउटा दुःखको लागि दोहोरो दुःख पाउँछ ।११ मुख्य कुरा यो हो कि प्राणीमा जसरी नचिताइएका दुःख आइपर्दछन् सुख पनि त्यस्तै हुन् । यस्तोमा भाग्यको हात भने केही बढी हुन्छ भन्ने बुझ्नुपर्छ ।१२ इति ।
द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा कल्याण हुनेछ ।

सन्दर्भाधार:–१– श्रीमद्भागवत् २– माहाभारत ३– हितोपदेश ४– माहाभारत ५– श्रीमद्भागवत ६– माहाभारत ७– हितोपदेश ८–११ माहाभारत १२–हितोपदेश