कालाजार रोगका बिरामी भेटियो, के हो त कालाजार ?

डडेल्धुरा
संचार गृह/ शनिबार, साउन ४, २०७६

डडेल्धुरामा कालाजार रोगका बिरामी भेटिएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका- ६ का एक युवकलाई कालाजार भएको हो ।

साउन महिनाको सुरुवातमै अमजयमेरुका २१ वर्षीय वि।पी जोशीलाई कालाजारको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालका प्रयोगशाला विभाग इन्र्चाज ल्याब अधिकृत इश्वरी प्रशाद भुसालले बताएका छन् ।

गत वर्ष डडेल्धुरालगायत सुदुरपश्चिम प्रदेशमा महामारीकै रुपमा फैलिएको स्क्रबटाईफस ज्वरो यो समयमा कालाजार, डेगुं, स्क्रबटाईफस, झाडापखाला लगायतका महामारी रुपमा फैलिने सम्भावना उच्च रहेको छ ।

तराईको रोग भनेर चिनिएको कालाजार पछिल्लो सयम पहाडी जिल्लातिर सर्दै गएको छ । रोग उत्पन्न गर्ने भुसुना ९सैन्डफ्लाई० पहाडी तथा हिमाली जिल्लामा समेत देखिन थालेको छ ।

जलवायु परिवर्तन र तराईबाट पहाडतिर गाडीमा सामान लाने क्रममा बढेका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कालाजार हल्का ज्वरो र कमजोरीले सुरु हुन्छ र विस्तारै तीव्र ज्वरो, रक्तअल्पता, कलेजो दुख्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीजस्तो लक्षणमा परिणत हुन्छ ।

बेलैमा उपचार नभए बिरामीको मृत्यु समेत हुन् सक्ने डडेल्धुरा अस्पतालका मेसु डा।जितेन्द्र कंडेलले बताए ।


के हो त कालाजार ?

कालाजारलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ ।

प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो । स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ ।

परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।

विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख संक्रमण हुने गरेको पाइन्छ ।

संक्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अङ्ग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ ।

कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ । यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल एचआइभी तथा कालाजारको संयुक्त संक्रमण चासोको विषयको रूपमा देखापर्न थालेको छ ।