मृतक वडाअध्यक्षको परिवारलाई एघार लाख सहयोग

बैतडी
संचार गृह/ शुक्रबार, साउन ३, २०७६

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका बैतडी सुर्नया गाउँपालिका १ का वडा अध्यक्ष कलशबहादुर चन्दको परिवारलाई गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

सुर्नया गाउँ कार्यपाालिकाको शुक्रवार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै किरिया खर्च बापत १ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बीरबहादुर बिष्टले बताए ।

यस्तै परिवारिक भरणपोषणका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ । अध्यक्ष चन्दको निधनले गाउँपालिकालाई अपूरणीय क्षति भएको र उनको योगदानको गाउँपालिकाले सधैं सम्मान गर्ने पनि अध्यक्ष बिष्टले बताए । सुर्नया गाउँ कार्यपालिकाको एक दरिलो खम्बा गुमाउँदा आफूलाई निकै असहज महसुस भएको समेत गाउँपालिका अध्यक्ष बिष्टले बताए ।

चन्दको शुक्रबार अन्तिम दाहसंस्कार गरिएको छ । पाटनको तिपडाघाटमा चन्दको दाहसंस्कार गरिएको हो ।

दाहसंस्कार गर्नुअघि चन्दको पार्थिव शरीरमा निर्माण व्यवसायी संघ र नेपाली कांग्रेसको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैतडीको सुर्नया गाउँपालिका १ हटैराज घर भएका ५० बर्षिय चन्दको बिहीवार सतबाँझ नजिक मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।