परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तीले गरे मरणोपरान्त अ‌ंगदान गर्ने घोषणा

भक्तपुर
संचार गृह/ शुक्रबार, साउन ३, २०७६

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन्। शुक्रबार भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उनले शरीरका ६ वटा अंग दान दिन गर्ने घोषणा गरेका हुन्। सो अवसरमा श्रीमती सरस्वती ज्ञवालीले पनि अ‌ंगदान दिने भनेर मञ्जुरीनामा दिएकी छिन्।

ज्ञवाली दम्पत्तीले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रा दान दिने भनेर मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधनको सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताए ।

अब उपचारका लागि पैसा नभएर ज्यान जानु पर्ने अवस्था नरहने बताउँदै उनले स्वास्थ्य बीमामार्फत एक लाखसम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताए ।

कार्यक्रममा केन्द्रका निर्देशक डा। पुकारन्द्र श्रेष्ठले अंग दान गर्ने कानुनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्रीकी श्रीमती सरस्वती ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, अध्यक्ष मिलन सुवाल, डा। रविभूषण सुवाल, टीकाराम ज्ञवालीलगायत १४ जनाले पनि अंगदानको घोषणा गरेका थिए ।

ज्ञवालीले उक्त निर्णयमा हस्ताक्षर गरेपछि फेसबुक र ट्वीटरमा यस्तो लेखेका छन् –

दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा मरणोपान्त अंगदान गरेर आयौं । जिन्दगीको त के भरोसा छ र जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्, बस् यत्ति कामना छ।