कुलेखानीको ड्याम खोलिँदै, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

मकवानपुर
संचार गृह/ सोमवार, असार ३०, २०७६

तस्बिर – गणेश प्रसाद बिष्ट

 

अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्याधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।

कुलेखानीको सरोवर भरिएर पानी २५.४ मिटर पुगेको गृहमन्त्रालयले जनाएको छ ।

मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी छाडिने भएको जनाएको हो ।

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरिसकेको छ ।

प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको बताइएको छ ।

नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।

कुलेखानीको ड्यामको ढोका खोलिने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।