दर्शकको माया बटुल्दै नव चित्रकार

काठमाडौं
संचार गृह/ मङ्लबार, जेष्ठ २८, २०७६

नेपाली चलचित्र क्षेत्रमा अधिकाँशले चिन्ने नाम हो साईब्रत आर्चाय । उनी बाल कलाकार हुँदै यस क्षेत्रमा प्रवेश गरेका हुन् । उनी बरिष्ठ पत्रकार तथा निर्देशक सुब्रत आर्चाय तथा चित्रकार जर्या शर्माका जेष्ठ सुपुत्र हुन् । उनी १९ बर्षका मात्र छन् । उनले कर्कश, अर्धकट्टी, सुश्री सम्पत्तिलगायतका चलचित्रमा अभिनय गरेका छन् । उनको मुख्य भूमिका रहेको चलचित्र भने छाँया हो । जसमा उनको अभिनयको व्यापक प्रशंसा समेत भएको थियो । यो सँगै उनले म्युजिक भिडियोहरुमासमेत काम गरिसकेका छन् ।

यो कुरा धेरैलाई थाहा छ, तर उनी आफैंमा एक उत्कृष्ट नव चित्रकार हुन् भन्ने कुरा धेरैंलाई थाहा नहुन सक्छ । लाजिम्पाटमा रहेको Sirjana Collage Of Fine Arts मा उनी कक्षा १२ मा अध्ययन गरिरहेका छन् । साइब्रत र उनी जस्तै यस कलेजमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले बनाएका चित्रहरु अहिले काठमाडौंमा प्रदर्शनी भईरहेको छ ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कक्षा १२मा अध्ययन गर्ने ३० जना बिद्यार्थीले कोरेका ३ सयभन्दा बढी चित्रहरु प्रर्दशनीमा राखिएका छन् । सोमबार २७ गतेबाट शुरु भएको प्रर्दशनी ३० गते बिहीबारसम्म चल्नेछ । प्रर्दशनीमा दर्शकको बाक्लो उपस्थिति बढिरहेको छ । प्रर्दशनीमा राखिएका चित्रहरु दर्शकले सम्बन्धित कलाकारमार्फत किन्न समेत सक्नेछन् । बढीमा चित्रको मूल्य ७ हजारसम्म रहेको छ ।


प्रर्दशनीमा साईब्रत सँगै अग्रिम राई, अंकित लिम्बू, अर्सिना तुलाधार, दिपिसा शाक्य, दिव्यता राई, जयसारा मिरिङचिङ, जेनी डंगोल, खुस्बु नेहाफुकी, खुसी राई, मिलन जिरेल, निखिल शाक्य, निसिता श्रेष्ठ, नोर्बु लामा, पारस श्रेष्ठ, प्रफुल शिल्पकार, रमा थापा, रश्मी श्रेष्ठ, रोजा महर्जन, रोशन बादे, शक्ति स्वरुपा राई, सम्राट जोशी, शक्तिराज राई, शिव चौधरी, सुबोध सुब्बा सिम्बु, तपस मगर, छिरिङ तेन्जिङ शेर्पा र युगदाश मानन्धरका तस्बीर छन् । चित्र प्रर्दशनीको व्यवस्थापन भने कलेज र बिद्यार्थी मिलेर गरेका हुन् ।

के हो चित्रकला ?
चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको हुन्छ । कलाको सम्बन्ध मानिसको जीवन र जगत्सँग अन्योन्याश्रित रहेको हुन्छ । विश्व मञ्चमा यो विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाहरुभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ ।

संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन । यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुगिन्छ । मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रुपमा शब्द र भाषामा प्रतिस्थापित हुँदै आएको यो विधालाई भौतिक, अभौतिक, आध्यात्मिक र दर्शनको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका रुपमा आज विश्व जनमञ्चले स्वीकारेको छ ।

राफेल, भेनगाग, डाली, पिसारो, लियानार्दो दा भिञ्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डि कनिङ, ज्याक्सन पोलक आदि विश्व प्रसिद्ध कलाकारहरु यस क्षेत्रका पिता हुन् । यिनीहरुका कलाकृतिले युग बोलेका छन् । त्यसैले यिनीहरुका कृतिहरुको आर्थिक मापन हुन सक्दैन भनिन्छ ।

उक्त कला प्रदर्शनीको संयोजन सृजना कलेज अफ फाइन आर्टका दुई शिक्षक तथा कलाकार रोशन भण्डारी र देवेन पाण्डेले गरेका हुन् ।

नेपालमा चित्रकला कसरी प्रवेश भयो ?
नेपालको सन्दर्भमा प्राचीन समयमा नेपाली चित्रकला परम्परागत धर्ममा आधारित थियो । कला कार्यलाई पारिवारिक पेसाको रुपमा नेवार समुदायको चित्रकार परिवारले धानेको थियो । नेपाली कला र सामाजिक विकासको स्वर्ण युग मानिने लिच्छवी तथा मल्लकालीन समयमा थुप्रै कलाकार्य भएका थिए । विशेष गरी वास्तुकलाको विकास, योसँगै भित्तेचित्रको पनि निर्माण भएको पाइन्छ । तथापि चित्रकारिताको आयु वास्तुकलाको जति लामो नहुने हुँदा र त्यो समय पछिका विभिन्न प्राकृतिक दुर्घटनाले गर्दा थुप्रै चित्र नष्ट भए । विभिन्न धार्मिक ग्रन्थहरूमा पनि चित्र निर्माण भए पनि तिनीहरू लामो समय टिक्न सकेनन् ।

सन् १८१४ देखि १८१६ सम्मको नेपाल-अंग्रेज युद्धपछि नेपाल र अंग्रेजबीच सुगौलीसन्धि भयो । अंग्रेजले नेपाल प्रतिनिधिको रूपमा सन् १८२० मा ब्रायन एच हड्सनलाई नेपाल पठाए । त्यतिबेला नेपालमा भीमसेन थापा प्रधानमन्त्री थिए । हड्सनले नेपाल बसाइका क्रममा नेपालको बौद्ध वास्तुकलाको विषयमा अध्ययन, खोज र अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा राजमान चित्रकारलाई वास्तुकलाको स्केच तयार गराउँथे र चित्रकारिताका नयाँ–नयाँ तरिका पनि सिकाउँथे । यो सँगै नेपाली चित्रकलामा परिवर्तन देखापर्यो । त्यसपछि भाजुमान चित्रकारको युरोप भ्रमण, चन्द्रमानसिङ मास्के र तेजबहादुर चित्रकारको कलकत्तामा चित्रकारिता अध्ययनसँगै नेपालीकलामा नौलो आयामको सुरुवात भएको पाइन्छ ।

यसर्थ यस्ता नवकलाकारहरुलाई अघि बढाउन र हामीले हाम्रो भविष्य युवापुस्तामा देख्ने हो भने एकपटक नेपाल आर्ट काउन्सिलमा गएर उनीहरुको श्रृजनालाई प्रोत्साहन गर्नैपर्छ ।