हिमाली जिल्लामा यार्सा टिप्ने लर्को, बझाङका अधिकाँश बिद्यालय बन्द

बझाङ
संचार गृह/ शनिबार, बैशाख २८, २०७६

प्रत्येक वर्ष वैशाखदेखि असारसम्म हजारौं नेपालीहरु यार्सागुम्बा टिप्न पहाडतिर लाग्ने गर्छन् । उनीहरु पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन् । त्यतिमात्रै होइन, उनीहरु स्कुल नै बन्द गरेर पहाडको माथि महिनौ दिनसम्म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन् ।
उनीहरु यसको खोजीमा विहानैदेखि ४ हजार ५ सय मिटर उचाइमा पुग्ने गर्दछन् भने दिनभरी त्यही नै बस्दछन् । धेरै पटक त पानी पर्नुका साथै हिउँ समेत खस्ने गर्छ । त्यस्तो कठिन परिस्थितिमा पनि उनीहरु यार्सा संकलनका लागि वर्षा, हावा, पानी र हिउँको पीडा सहेर पनि यार्सा टिप्न तल्लिन रहन्छन् । विगतका बर्षहरु जस्तै यस बर्ष पनि बझाङसहित हिमाली जिल्लाहरुमा यार्सा संकलन गर्नका लागि लेक तिर जानहरुको लर्को नै लागेको छ ।

बझाङका सुर्मा, काँडा, मष्टा, छविस पाथेभेरा गाँउपालिका र बंगलनगरपालिकाका सर्वसाधारणहरु अहिले लेकतिर यार्सागुम्बा संकलन गर्न हिडेका छन् । तिन महिना यार्सा संकलन गरेर झण्डै एक बर्ष खान पुग्ने भए पछि यहाँका स्थानीयहरु पूरै परिवासहित यार्सा संकलन गर्न लेकतिर जाने गरेका हुन् ।

धेरै जस्तो स्थानीयहरुले यार्सा संकलनबाट नै सदरमुकाम चैनपुर, धनगढी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) र काठमाडौसम्म घर तथा जग्गा खरीद पनि गरिसकेका छन् ।

अहिले लेकमा हिउ भएको भए पनि त्यसको तल्लो बेल्ट तिर यार्सा पाईन थाले पछि उनीहरु लेक तिर जान थालेका हुन् । बैशाख महिनाको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयहरु असार महिनाको अन्तिम तिर मात्र घर फिर्ता हुने गर्दछन् ।
सुर्मा, साईपाल गाँउपालिकाका स्थानीयहरु अहिलेको सिजनमा घरमा ताला लगाएर यार्सा संकलन गर्न जाने गरेको स्थानीय सञ्चारगृहलाई बताउँछन् । यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तिन महिना यार्सा संकलन गरेर बर्ष भरिका लागी परिवार पाल्नुपर्ने बाध्यता पनि उनीहरुसँग छ ।

सुत्केरी महिला, हिड्डुल गर्न नसक्ने वृद्ध वृद्धा र साना हिडडुल गर्न नसक्ने बालबालिका बाहेक सबै योे सिजनमा यार्सा संकलनका लागि लेक तिर लागेको स्थानीय कलक बहादुर बोहराले सञ्चारगृहलाई बताए । विगतका बर्षहरु भन्दा क्रमिक रुपमा यार्साको उत्पादन घट्दै जाँदा यसैमा निर्भर रहने स्थानीय भने बढी मारमा पर्ने गरेका छन् ।

सरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित हुन नपरोस भनेर देशब्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरै जसो सरकारी बिद्यालय तिन महिनाका लागी बन्द भएका छन् ।

बिद्यालयमा पढ्ने उमेरका सबै बिद्यार्थी र अभिभावकहरु समेत यार्सागुम्बा टिप्न लेकतिर लागे पछि यहाँका बिद्यालयहरु असार मसान्त सम्मका लागी बन्द भएका हुन् । जिल्लाका साईपाल र सुर्मा गाँउपालिकाका सबै विद्यालयहरु बन्द भएका छन् भने तल्कोट गाँउपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयहरु समेत बन्द भएका छन् । अझै केहि बिद्यालयहरु यसै महिनाको अन्तसम्म बन्द हुने स्थानीय सञ्चारगृहलाई गुनासो गर्छन् ।

यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७/८ बर्षका बालकदेखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर चढ्ने गरेका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै केही शिक्षक शिक्षिकाहरु पनि यार्सागुम्बा टिप्नका लागी पाटन तिरै उक्लिएका छन् ।
दुर्गम हिमाली क्षेत्रका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा जाडोका कारण बन्द हुने यसैगरी दशै तिहार र अन्य विदाहरुमा समेत विद्यालय वन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा बर्षमा चार महिना पनि राम्रो सँग पढाई नहुने गरेको छ । नियमित पढाइ नहुँदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाई उपलब्धी न्युन हुने गरेको तथ्य त छदैँछ ।

समुन्द्री सतह देखि ४ हजार मिटर भन्दा बढि उचाइमा पाइने यार्सागुम्बा टिप्नको लागी अहिले यस जिल्लाका छिमेकि जिल्ला बाजुरा, बैतडि, हुम्ला, दार्चुला र अछामबाट मानिसहरु ओइरिने क्रम सुरु भैसकेको छ भने यार्सागुम्बा टिप्न र ब्यापार गर्नको लागी सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, भारत र चीनको तिब्बतबाट एक सिजनमा बिसदेखी चालिस हजार मान्छे त्याहाँ पुग्ने गरेका छन् ।

नेपालको हिमाली हावापानीमा हुर्किएकोे यार्सागुम्बा सुनभन्दा पनि महँगोमा बिक्रि वितरण हुने गरेको छ ।

तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ ।
नेपालको हिमालयतर्फ र तिब्बती सीमानामा करीब ३ हजार देखि पाँच हजार मिटरको उचाईमा यसको बासस्थान हुन्छ । यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ । त्यही कारण नेपालमा मात्रै होइन विदेशमा पनि सुनभन्दा महँगो रुपमा लिने गरिन्छ ।
यसले मानिसलाई क्यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्दछ भन्ने गरिन्छ । यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्य करीब एक लाख डलर बराबर रहेको बीबीसीले आफ्नो एक रिपोर्टमा उल्लख गरेको छ ।