हिरो महिला गोल्डकप -इरानविरुद्ध नेपालको शानदार जित

संचार गृह/ बुधबार, फाल्गुन १, २०७५

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३–०  ले हराएको छ ।

खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् ।

बुधबारको खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान सरु लिम्बूले लिएकी थिइन् । बुधबारको खेलमा फिफा वरीयतामा ६०औँ स्थानमा रहेको इरानलाई १०६औँ स्थानमा भएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हरायो ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलको नतिजा कुर्नुपर्नेछ । नेपाल र म्यानमारको समान ६र६ अंक रहेको छ भने भारतको ३ अंक रहेको छ । यदि म्यानमारले भारतलाई हरायो वा खेल बराबरी भयो भने नेपाल फाइनलमा पुग्नेछ ।

यदि म्यानमारलाई भारतले ठूलो मार्जिनले जित्यो भने नेपालको फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ । तीनै खेल हारेको इरान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलपछि नेपाली खेलाडी केही भावुक भएका थिए, उनीहरुले मैदानमा पुगेको समर्थकलाई सपोर्टका लागि धन्यवाद दिएका थिए ।